सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैया बढी रकम लिएर फरार भएपछि वचतकर्ताहरुको विचल्ली

सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ बढी रकम लिएर फरार भएपछि वचतकर्ताहरुको विचल्ली भएको छ । ४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको वचत सहकारीबाट फिर्ता नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको बताए । आन्दोलित वचतकर्ताले पूर्व-पश्चिम राजमार्गको भाण्टाबारी खण्डमा सडक अवरोध गरेर प्रर्दशन समेत गरेका छन् । उनीहरुले भाण्टाबारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक ३०० बढी वचतकर्ताको रकम लिएर फरार भएको आरोप लगाएका छन् । पासबुकसहित बन्द रहेको कार्यालय अगाडि भेला भएका वचतकर्ताहरुले वचत गरेको रकम अविलम्ब फिर्ता नपाए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।
यता सहकारी संस्थाका एजेन्टका रुपमा रहेका वचत संकलनकर्ता सूर्यनारायण साहूले आफूले स्थानीयबाट वचत संकलन गरी रकम जम्मा गरेपनि सहकारी संस्थाले भुक्तानी दिन भने आनाकानी गर्दा समस्या निम्तेको बताउनु भयो । आफू बारम्बार वचतकर्ताको निशानामा पर्दासमेत सहकारीका सञ्चालकले बेवास्ता गरेको उहाँको भनाइ छ । साहूले अहिले आएर सञ्चालकले उल्टै आफूमाथि रकम नै जम्मा नगरेको भनि आरोप लगाउन थालेको बताउनु भयो ।
यता सहकारी संस्थाका सञ्चालक समूहले भने वचतकर्ताबाट संकलित रकम लगानी गरेको हुँदा रकम उठ्न ढिला भएकाले भुक्तानी दिन समस्या परेको बताएको छ । संचालक समितिका अध्यक्ष मनोज यादवले संस्थाले प्रवाह गरेको ऋण र जम्मा गरेको रकमका सवालमा वचतकर्तासँग मतभेदको अवस्था श्रृजना हुनपुग्दा अवस्था असहज बन्न पुगेको बताउनु भयो । उहाँले अडिट रिर्पोट प्राप्त हुनासाथ वचतकर्ताको रकम फिर्ता दिइने बताउनु भयो ।

Spread the love