साउन अघि रेल नचल्ने, त्रिपालले छोपेको छोप्यै

असार २४, काठमाडौं । जयनगर–जनकपुर खण्डमा रोकिएको रेल असारभित्रै चलाउन नसकिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । कर्मचारी चलाउन तयार भएपनि रेल चल्नेबारे अझै अन्योल छ । सरकारले चलाउने अनुमति नदिंदा रेल नचलेको हो ।

रेल रोकिएको यो पहिलो घटना भने होइन । गत असोज २ मा ल्याइएका दुई रेल सेट चलाउन धेरै मिति तय गरिए । त्रिपालले छोपिएका रेलको ‘घुम्टो’ अझै खुल्न सकेन । गत वर्ष पनि सञ्चालनमा कोभिडको प्रभाव परेको र यो वर्ष पनि त्यही समस्या दोहोरिएको मन्त्रालयले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जेठ अन्तिममा अवस्था सहज हुनेबित्तिकै रेल चलाउन निर्देशन दिएका थिए । रेलमा काम गर्ने कर्मचारीको तालिम नसकिई रेल चल्न नसक्ने मन्त्रालय आफैंले उल्लेख गर्दै आएको छ । नीतिगत, व्यावहारिक र प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेकाले निषेधाज्ञा खुल्नासाथ सञ्चालनको तयारीमा लाग्न मन्त्री नेम्वाङले निर्देशन दिएका थिए ।

भारतबाट रेल सेट खरिद गरेर ल्याएको १० महिना पुग्न लाग्यो । तर अझै सञ्चालनको टुंगो लाग्न सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल रेलवे कम्पनीले पटकपटक सञ्चालन मिति तय गर्दै आए पनि भारतले निर्माण गरेका संरचना अझै हस्तान्तरण हुन सकेका छैनन् । पछिल्लो पटक असार अन्तिमसम्म रेल चलाउने तयारी थियो ।

अहिले जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरमा रेल चल्ने भनिएपनि रेल चलाइएको छैन । त्यसपछि थप १७ किमि दूरीमा रहेको विजलपुरासम्म रेल पुग्ने जनाइएको छ । रेल सेट जनकपुरको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको बेसक्याम्पअघि पालले छोपेर राखिएको छ । रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडले तयार गरेर दिएको हो । अहिले कोंकणकै प्राविधिकले थन्किएका रेलको जाँच गर्दै आएका छन ।

दुबै देश बिचमा समन्वय अभावले गर्दा रेल चलाउन ढिलाइ भएको जानकारहरु बताउँछन् । कर्मचारीदेखि कार्यालय व्यवस्थापन आदि सबै तयारी भइसकेको छ । अध्यादेश मार्फत रेल सञ्चालन सम्बन्धी कानुन पनि आइसकेको छ ।

 

 

Spread the love