सातौ राष्ट्रिय कृषि गणना २०७८ शुरु

केन्द्रिय तथ्यांक विभागले राष्ट्रिय सातौँ कृषि गणना २०७८ शुरु गरेको छ । विभागले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएको हो । विभागकाअनुसार गत वैशाख ६ गतेबाट कृषि गणना कार्य शुरु भएको छ । वैशाख ६ गतेबाट शुरु भएको तथ्यांक संकलन कार्य जेठ मसान्तसम्म हुने विभागले जनाएको छ । कृषि गणना कार्य तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्यांक उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन गरिएको कृषि तथा पशु गणना विभागका निर्देशक डा. महेशकुमार सुवेदीले बताउनु भयो । उहाँले गत दुई वर्ष यता कृषि गणनाको तयारी थालेको र वैशाख ६ गतेबाट कृषि गणना शुरु गरेको बताउनु भयो । निर्देशक सुवेदीले काठमाडौं ललितपुर र भक्तपुरको हकमा शुक्रवारदेखि मात्रै गणना कार्य शुरु हुने जानकारी दिनुभयो । उहाँले कृषि गणनाको प्रारम्भिक नतिजा मंसिर अन्तिमसम्म गर्ने र असार मसान्तसम्म सम्पूणर् संकलित फारमहरु केन्द्रमा ल्याइसक्ने पनि बताउनु भयो ।
त्यस्तै केन्द्रिय तथ्यांक विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले तथ्यांक विभागले आगामी असोज महिनासम्म तेस्रो लिङ्गीको जनसंख्याको विवरण सार्वजनिक गर्ने बताउनु भयो । उहाँले तेस्रो लिङ्गीहरुको जनसंख्या गणना गर्न सहज नभए पनि राज्यका लागि यो तथ्यांक आवश्यक पर्ने भएकोले राष्ट्रिय जनगणना २०७८ मा यसबारे विवरण संकलन गरिएको बताउनु भयो । उपमहानिर्देशक रेग्मीले कृषि जनगणनामा भने नितान्त कृषकको विवरण, समस्या र कृषिको अवस्थाका बारेमा गणना हुने बताउनु भयो ।
वि.सं. २०१८ सालदेखि हरेक १०/१० वर्षमा कृषि गणना गर्ने गरिन्छ । तथ्यांक विभागले यस वर्षको कृषि गणना भने २०७८ चैत्र १ गतेदेखि ७७ वटै जिल्लामा कृषि गणना कार्यालय स्थापना गरी गणना शुरु गरेको छ । विगतका कृषि गणनाहरुमा जिल्लास्तरीय कृषि तथ्यांक मात्रै प्रकाशन गर्दै आएकोमा यस पटक ७५३ वटै गाउँपालिका/नगरपालिका सम्मको कृषि तथ्यांक संशलन हुनेछ । वैज्ञानिक विधि प्रयोग गरी करिव ३ लाख ५० हजार कृषक परिवार छनोट गरेर कृषक परिवार प्रश्नावलीमार्फत कृषि तथा पशुपंक्षीपालनसम्बन्धी विस्तृत विवरण संकलन गर्ने लक्ष्य लिइएको छ । कृषि गणनाका लागि ५ हजार १ सय ५० गणक, १ हजार ३ सय ५० सुपरिवेक्षक तथा ७७ कृषि गणना अधिकृतहरुसहित ७ हजार २ सय कर्मचारी प्रत्यक्ष रुपमा स्थलगत कार्यमा परिचालित रहनेछन् ।

Spread the love