स्वास्थ्य विमा कार्यक्रममा देखिएको समस्या तत्काल हल गर्न सरकारलाई निर्देशन

संसदीय समितिले स्वास्थ्य विमा कार्यक्रममा देखिएको समस्या तत्काल हल गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले
क्याविनेटमा प्र्रस्ताव लगेर भएपनि सो विमा कार्यक्रम कार्यान्वयनमा देखिएको समस्या तत्काल हल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । बजेट वक्तव्यमा आएको सो सम्बन्धि व्यवस्थालाई हेरी मन्त्रालय आफैंले वा नसकेमा मन्त्रीपरिषद बैठकबाट आवश्यक निणर्य गराएर भएपनि सो विमा कार्यक्रम तत्काल कार्यान्यवनमा ल्याउन सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले बताउनु भयो । समितिले सेवाग्राहीलाई सहज ढंगले सो विमाको भुक्तानी पाउने व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा समितिका सदस्यहरुले स्वास्थ्य विमा कार्यक्रम तत्काल सुचारु गराउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । आफूले नसके मन्त्रीपरिषद बैठकबाट आवश्यक निणर्य गराएर भएपनि सो विमा कार्यक्रम तत्काल कार्यान्वयन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढिलाई गर्न नहुने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले बताउनु भयो । उहाँले स्वास्थ्य विमा कार्यक्रम रोकेर सरकारले गम्भिर गल्ती गरेको आरोप समेत लगाउनु भयो ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले स्वास्थ्य विमा कार्यक्रमलाई अर्थ मन्त्रालयले अघि बढाउन समस्या खडा गरिरहेको उल्लेख गर्दै आक्रोश समेत व्यक्त गर्नु भयो । उहाँले अर्थ मन्त्रालयसँग आवश्यक छलफल गरेर सो विमा कार्यक्रमलाई तत्काल अघि बढाउन पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
सांसद पोखरेलले सो विमा कार्यक्रमलाई निजी क्षेत्रको पनि सहभागितामा अघि बढाउने सरकारको निणर्य भने स्वागतयोग्य रहेको बताउनु भयो ।

Spread the love