होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोक

होटल एशोसिएशन नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताउनुभएको छ । शनिवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष शाहले यस्तो बताउनुभएको हो । हानले यही जेठ १८ गतेबाट होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गर्ने अभियान सञ्चलन गरेको थियो । जलवायु परिवर्तनमा सबैभन्दा धेरै असर प्लाष्टिकको कारण भएको भन्दै उहाँले प्रदूषण घटाउने, क्लाइमेट चेन्जको असरलाई कम गराउँदै जाने लक्ष्यका साथ यो अभियान थालेको बताउनु भयो । उपाध्यक्ष शाहले जेठ १८ गतेबाट ‘नो टू प्लाष्टिक’ भन्ने नारासहित अभियान सञ्चालन गरेको बताउनु भयो । उहाँले २०२४ सम्ममा होटलमा आउनेहरुलाई प्लाष्टिकजन्य वस्तु बेगर सेवा दिने काम सफल गर्ने लक्ष्य रहेको बताउनु भयो ।
उपाध्यक्ष शाहले प्लाष्टिक भन्दा प्राकृतिक कुराहरु केही मात्रामा महंगो भएपनि यसले धेरै फाइदा गर्ने बताउनु भयो । उहाँले ग्राहकलाई न्यूनतम हुने गरेर होटलका कोठामा प्राकृतिक कुराहरुको प्रयोगमा जोड दिने बताउनु भयो । उहाँले प्लाष्टिक फ्रि सामानहरु पनि टेस्टेड, क्वालिटी सर्टिफिकेशन भएको हुने बताउनु भयो । प्लाष्टिकजन्य पदार्थको अत्याधिक प्रयोगका कारण पर्यटकीय गन्तव्य तथा हिमालीय क्षेत्रहरुमा जलवायु परिवर्तनको असर अत्याधिक बढेको छ ।

Spread the love