१४ अर्ब बराबरको हकप्रद विक्रीका लागि धितोपत्र बोर्डले दियो अनुमति

असार २६, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षमा कुल रू. १४ अर्ब चार करोड ९७ लाख ७ हजार २५ बराबरको हकप्रद शेयर विक्रीका लागि अनुमति दिएको छ ।

बोर्डको अनुसार चालू आवमा विभिन्न सात कम्पनीले हकप्रदख शेयर विक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो हकप्रद शेयर भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको रहेको छ ।

नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना भएको सो कम्पनीले दर्जनभन्दा बढी आयोजनामा यसअघि नै लगानी गरिसकेको छ । कम्पनीको चुक्तापूँजी रू. २२ अर्ब पु¥याउने लक्ष्यका साथ एचआडिसिएलले हकप्रद शेयर विक्री गर्न लागेको हो ।

बोर्डले कम्पनीलाई रू. ११ अर्ब बराबरको हकप्रद शेयर विक्रीको अनुमति दिएको छ । हाल रू. ११ अर्ब बराबरको चुक्तापूँजी भएको कम्पनीले हकप्रद शेयर विक्री गरेपछि कुल पूँजी रू. २२ अर्ब बराबर पुग्नेछ ।

कम्पनीले ७६२ मेगावाट क्षमताको तमोर जलाशयुक्त आयोजना र रोल्पामा आयोजनास्थल रहेको माडीखोला जलाशयुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी गरिरहेको छ ।

राससका अनुसार, कम्पनीको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डले यही असार ९ गते हकप्रद शेयर विक्रीको अनुमति दिएको हो ।

यस्तै बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई रू. ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । नागरिक लगानी कोषले समेत चालू आवमा नै हकप्रद शेयर विक्रीको अनुमति पाएको हो । कोषले रू. १६ करोड ९७ लाख ५० हजार ६२५ बराबरको हकप्रद शेयर विक्रीको अनुमति पाएको हो ।

यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले रू. एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २००, अरुण भ्याली हाइड्रोपावर कम्पनीले रू. ५२ करोड ४१ लाख १९ हजार ७०० र अपि पावर कम्पनीले रू. ५६ करोड ७० लाख बराबरको हकप्रद शेयर विक्रीको अनुमति पाएको हो ।

यस्तै बोर्डले चालू आवमा मात्रै २३ ओटा बैंक तथा वित्तीय संस्थालाई रू. २३ अर्ब चार करोड बराबरको ऋणपत्र विक्रीका लागि अनुमति दिएको छ ।

बोर्डले पछिल्लो पटक मैलुङ खोला जलविद्युत् आयोजनालाई साधारण शेयर विक्रीका लागि अनुमति दिएपछि चालू आवमा मात्रै कुल १९ कम्पनी पुगेका छन् ।

मैलुङ खोलाले रू. सात करोड ३६ लाख २८ हजार बराबरको साधारण शेयर बिक्री गर्नेछ । बोर्डले कुल रू. १४ अर्ब ४१ करोड ५९ लाख ५३ हजार ७०० बराबरको साधारण शेयर विक्रीका लागि अनुमति प्रदान गरेको छ ।

शुक्रवार आयोजित एक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नेपालको धितोपत्रको विकास र विस्तारमा अत्यावश्यक रुपमा गरिने सबै कामलाई सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको बताएका छन् ।

 

 

Spread the love