नेपालको उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्ने विषयलाई फरक ढंगले हेर्नुपर्ने पर्यटन मन्त्रीको भनाइ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालो सूचीमा राख्ने निणर्यको अन्तरवस्तु केलाउनुपर्ने बतानुभएको छ । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले नेपालको उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्ने विषयलाई फरक ढंगले हेर्नुपर्ने बताउनुभएको हो । नेपालको योग्यता नपुगेका कारण हो अथवा कुनैपनि देशको स्वार्थका कारण कालो सूचीमा राखिएको हो भन्ने सम्बन्धमा अन्तरवस्तु केलाएर हेर्नुपर्ने बताउनुभयो । कसैले कालो सूचीमा राखेर आफ्ना स्वार्थ पुरा गर्नका लागि अतिरिक्त दवाव दिन खोजेको हो भने अन्तर्राष्ट्रिय समुदायलाई भन्न सक्नुपर्ने पनि मन्त्री ढकालले बताउनुभयो ।

मन्त्री ढकालले राजनीतिक पहुच र शक्तिको आधारमा विगतमा विभिन्न जिल्लामा एयरपोर्ट निर्माण गरिएकोले अहिले धरै एयरपोर्ट सञ्चालनमा आउन नसकेको पनि बताउनुभयो । देशभर ५५ वटा एयरपोर्ट रहेकोमा ३६ वटा कालोपत्रे गरीएको र त्यसमा पनि ३५ वटा मात्रै सञ्चालनमा रहेको बताउनुभयो । २० वटा एयरपोर्ट सञ्चालनमा आउन नसक्नुले राजनीतिक पहुँच र शक्तिको आधारमा एयरपोर्ट बनाइएको स्पष्ट हुने बताउनुभयो ।

कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोभिडका कारण नेपालको उड्डयन क्षेत्रमा अर्बौं रुपैयाँ नोक्सानी भएको बताउनुभयो । नेपाल बायुसेवा निगमले झण्डै ५ अर्ब, हिमालयन एयरलाइन्सले झण्डै २ अर्ब र आन्तरिक तर्फका हवाई जहाज र हेलिकोप्टर अपरेटरहरुले करिब १० अर्ब ६२ करोड रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको महानिर्देशक पोखरेलले बताउनुभयो । प्राधिकरणको आम्दानीमा पनि ८० प्रतिशत अर्थात ५ अर्ब ६९ करोड रुपैयाँ घटेको बताउनुभयो ।

प्राधिकरणका अनुसार कोभिड रोकथामका लागि लकडाउन भएपछि अहिले सम्मको अवधिमा अन्तर्राष्ट्रिय उडानमा ८६ प्रतिशत र आन्तरिक उडानमा ८३ प्रतिशत हवाई यात्रु घटेको छ ।

Spread the love