नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश

सरकारले नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश गरेको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक प्रस्तुत गर्दै सामाजिक जीवनलाई अनशासित, व्यवस्थित र सभ्य बनाउनका आवश्यक व्यवस्था गर्दै विधेयक ल्याइएको बताउनुभयो । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्तले राख्नुभएको विरोधको सूचना वहुमतले अस्वीकृत भएपछि विधेयक प्रस्तुतका लागि बाटो खुलेको थियो ।
राष्ट्रियसभा सदस्य पन्तले विरोधको सूचना प्रस्तुत गर्दै विशेष सेवा विधेयक २०७६ ले नागरिकको स्वतन्त्रता हनन गर्ने , गोपनियताको हक भंग गर्ने भन्दै  विधेयकलाई “ज्यानमारा” को संज्ञा दिनुभयो । फरक विचार र फरक दललाई ठाउँको ठाउँ समाप्त पार्ने नियतले यो विधेयक ल्याईएको भन्दै उहाँले फरक विचार राख्ने सत्तारुढ दलका नेताहरुका लागि पनि खतरापूर्ण रहेको दाबी गर्नुभयो ।

कल डिटेल देखि लिएर सबै कुराहरु अहिले पनि अदालतको अनुमति लिएर भइरहेको उल्लेख गर्दै उहाँले विधेयक आएपछि कसैको अनुमति नचाहिने तर्क गर्नुभयो । उहाँले भन्नुभयो “जोसुकैलाई पनि ठाउँको ठाउँ सक्ने छ । प्रधानमन्त्रीले ठोक्न लगाउने र गृहमन्त्रीले सदनमा आएर जवाफ दिन आउने दिन धेरै टाढा छैन । नेपाल विशेष सेवा विधेयक संविधानमा उल्लेखित गोपनियताको हक, नागरिक स्वतन्त्रता लगायतको प्रतिकुल भएको हुँदा फिर्ता गर्न माग गर्दछु । ” यसअघि गत शुक्रबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले नेपाल विशेष सेवा विधेयक २०७६ संविधानकको मर्म र भावना विपरित नागरिकको स्वतन्त्रता र गोपनियता हनन गर्ने गरि ल्याउने काम भएको भन्दै फिर्ता लैजान सरकारसंग माग गरेको थियो ।

Spread the love