हिमालयन बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको २२ प्रतिशत लाभांश पारित

हिमालयन बैंकको २७ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २२ प्रतिशत लाभांशलाई पारित गरेको छ । बैंकको बुधबार काठमाडौंमा बसेको वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । लाभांश पारित भएसँगै बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ । साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा पाँच जनालाई निर्विरोध निर्वाचित गरेको छ । आगामी कार्याकालका साधारण सभाले सञ्चालक समितिमा आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैसल लालानी र तुलसीप्रसाद गौतमलाई संस्थापक सञ्चालकमा निर्विरोध चयन गरेको हो । जसमध्ये लालानी पाकिस्तानको हबिव बैंक र गौतम कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक बन्नुभएको हो । त्यस्तै बैंकले अधिकृत पूँजीपनि १० अर्ब रुपैयाँबाट वृद्धि गरी १२ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्तावलाई समेत पारित गरेको छ ।

Spread the love