सहकारी संस्थाहरु सम्पत्ति शुद्धीकरणका हिसाबले अत्यन्त जोखिममा रहेको भनाइ

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले सहकारी संस्थाहरु सम्पत्ति शुद्धीकरणका हिसाबले अत्यन्त जोखिममा रहेको बताउनु भएकोछ । आइतबार काठमाडौंमा आयोजित ‘सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण’ सम्बन्धी कार्यक्रममा महानिर्देशक भट्टराईले सहकारीमा भ्रष्टाचार, ट्याक्स छलि भएको रकम आउन सक्ने जोखिम उच्च रहेको बताउनुभएको हो । त्यस्तै सहकारी क्षेत्रमा मानिसको दवाव र बैंकिङ अपराध बढ्न सक्ने उच्च जोखिम समेत रहेकोले त्यसको सुपरिवेक्षणमा सहकारी विभागले आफ्नो सक्रियता बढाउनुपर्ने बताउनुभयो । उहाँले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग आफै अनुसन्धानमा जाने भन्दा पनि नियामक निकायहरुसँगको सहकार्यमा काम गर्ने बताउनुभयो । सम्पत्ति शद्धीकरणका लागि सहकारी क्षेत्रमा देखिएको कर्मचारीको क्षमता र ज्ञान नै मुख्य चुनौति रहेकोले सहकारी संस्थाहरुले प्राविधिक उपकरण र क्षमता बढाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । महानिर्देशक भट्टराईले सहकारी संस्थाहरुले पनि ग्राहकको केवाइसी भर्ने, पैसा लिने तर संकास्पद भए रिपोर्टीङ गर्ने काम गर्नुपर्ने बताउनुभयो । त्यसो गर्न नसक्ने र लुकाएर राख्ने गरेको पाइए सहकारी संस्था कारबाहीमा पर्ने बताउनुभयो ।

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले विभागले जारी गरेका निर्देशनहरु सहकारी संस्थाहरुलाई अक्षरस परिपालना गर्न निर्देशन दिनुभयो । उहाँले सम्पत्ति शुद्धीकरण निवारणको कार्यमा अन्तर्राष्ट्रिय दायित्व भएकोले पनि यो विषयमा जानकारी भएन भनेर छुट नहुने बताउनुभयो । उहाँले सम्पत्ति शुद्धीकरणमा अहिले सम्म केही संस्थाहरुलाई कारबाही गरिएको, केहीलाई सचेत गराइएको र केहीलाई छानविनमा ल्याइएको उल्लेख गर्दै गलत गर्नेलाई कारबाही गर्न एक इन्च पनि बाँकि नराख्ने बताउनुभयो । उहाँले सम्पत्ति शुद्धीकरण न्यूनिकरणका लागि बैंकिङ क्षेत्रमा गोएमएल लागू भइसकेको र सहकारी क्षेत्रमा पनि लागू गर्ने तयारी विभागले गरिरहेको बताउनुभयो । बैंकिङ क्षेत्रमा आफ्नो पैसा राख्न स्रोत खुलाउने पर्ने कारणले सहकारी क्षेत्रमा त्यस्तो रकम आउन सक्ने भन्दै विभागले अनुसन्धानमा सक्रियता बढाएको समेत उहाँले बताउनुभयो ।

रजिष्ट्रार पाण्डेले सम्पत्ति शुद्धीकरण निवारण कार्यान्वयनका लागि सहकारी विभागको रजिष्ट्रारको संयोजकत्वमा कार्यान्वयन समिति समेत गठन गरिएको बताउनुभयो । उहाँले पछिल्लो समय सहकारी संस्थाहरुले कारोबारका आधारमा एसटीआर र टीटीआरको रिपोर्ट नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा पठाईराखेको र त्यसको बोधार्थ सहकारी विभागमा पनि आउन सुरु भइसकेको बताउनुभयो । त्यसले सम्पत्ति शुद्धीकरण न्युनिकरणमा दायित्व परिपालिनाका लागि योजना बनाउने र कार्यान्वयन गर्ने कार्यलाई अगाडि बढाउन सहज भएको उहाँले बताउनुभयो ।

Spread the love