विद्युत् वितरण प्रणालीमा प्रयोग भएका तारहरुलाई भूमिगत बनाउने काम सुरु

काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीमा प्रयोग गरिएको तारहरुलाई भूमिगत बनाउने काम सुरु गरिएको छ । काठमाण्डौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । पहिलो चरणमा काठमाण्डौको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्र्तगतका विद्युतीय तारहरुलाई भूमिगत बनाउने काम सोमबार महाराजगञ्जबाट सुरु गरिएको हो । प्रधानमन्त्री ओलीले विद्युतीय वितरण प्रणालीलाई भूमिगत बनाउने कार्यलाई ‘विकासको तिब्र गति ’ भनी टिप्पणी गर्नुभयो । उच्चप्रविधियुक्त नया कामको थालनि भएको र त्यो कामका लागि काम नभई नया काम भएको भन्दै उहाँले यसले काठमाण्डौको सौन्र्दय बढाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले निर्धारित समयमा काम सम्पन्न गर्न पनि ठेकेदार कम्पनिलाई निर्देशन दिनुभयो । समयमा काम सम्पन्न गर्नेलाई पुरस्कृत र पुरा नगर्नेलाई दण्डित गर्ने कामको सुरुवात भईसकेकाले विगतको जस्तो ढिलासुस्ती गर्ने प्रवृति दोहोरिन नहुनेमा उहाँले सचेत गराउनुभयो । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले उज्यालोलाई विश्वासिलो र भरपर्दो बनाउने नयाँ चुनौति संगै नया कामको सुरुवात भएको बताउनुभयो । विद्युत् वितरण क्षेत्र र आधुनिकीकरणमा यसलाई विश्वसनिय र भरपर्दो बनाउने काममा भूमिगत तार व्यवस्थापन प्रणाली महत्वपुर्ण रहेको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिरङले विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने कार्यले नेपाल सरकारको ‘डिजिटल नेपाल निर्माण’को अवधारणालाई साकार पार्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भूमिगत कार्य गर्दा परम्परागत प्रविधि नभई होरिजेन्टल डाईरेक्सन ड्रिलिङ प्रविधि प्रयोग गरिने जानकारी दिनुभयो । उहाँले सडकमा सवारी साधनको आवागमन र पैदलयात्रुलाई असर नपर्ने गरी रातको समयमा काम गरिने र सो क्रममा क्षतिग्रस्त भएको सडक १० दिन भित्र मर्मत गरिसकिने बताउनुभयो । प्राधिकरणका अनुसार पहिलो चरणमा महाराजगञ्ज वितरण केन्द्र अन्र्तगतको क्षेत्रहरु बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गंगबू, सामाखुसी, महाराजगञ्ज, धापासी, बसुन्धारा, शिवपुरी , चुनीखेल, सुकेधारा, धर्मस्थली, टिचिंङ हस्पिटल लगायतका स्थानहरुमा करिब २ सय ५० किलोमिटर ११ हजार भोल्टेलको भूमिगत तार विछ्याईने छ । त्यसैगरी ४ सय भोल्टेजका ४ सय किलोमिटर अप्टिल फाइबर भूमिगत विछ्याईने छ ।
त्यसैगरी रत्नपार्क वितरण केन्द्र अन्र्तगतको क्षेत्रहरु रत्नपार्क, बागबजार, पुलतीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नयाँ बजार लगायत स्थानहरुमा करिब २ सय किलोमिटर ११ हजार भोल्टेजको भूमिगत लाईन तथा करिब ४ सय किलोमिटर ४ सय भोल्टेजको भूमिगत लाईन निर्माणको साथै करिब २ सय किलोमिटर अप्टिकल फाईबर भूमिगत विछ्याईने छ । विद्युत्को तारसंगै अप्टिकल फाइबर पनि बिछ्याइने भएकाले इन्टरनेट, दुरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले पनि सो अप्टिकल फाइबर प्रयोग गर्न सक्नेछन् ।
दोश्रो चरणमा काठमाण्डौका बाँकी स्थानहरुमा अप्टिकल फाईबर भूमिगत विछ्याईनेछ । भक्तपुर तथा ललितपुरमा पनि भूमिगत तार विछ्याउनका लागि खरिद प्रक्रिया अघि बढाईएको छ । उपत्यकाबाहिर कास्की जिल्लाके पोखरा महानगरपालिका तथा चितवनको भरतपुर महनगरपालिकाका मुख्य सडकहरुमा समेत विद्युत् वितरण प्रणाली भूमिगत गर्नका लागि अध्ययन गरी ठेक्का सम्झौता भई ठेकेदारबाट कार्य प्रारम्भ पनि भईसकेको छ । विद्युत् प्राधिकरणले देशै भरको थ्री फेज ग्राहकहरुको मिटर एक बर्ष भित्र स्मार्ट मिटरमा प्रतिस्थापन गर्ने बताएको छ । आगामी दिनमा क्रमैसंग मुलुकभरका ग्राहहरुके घरमा स्मार्ट मीटर जडान गरिने पनि प्राधिकरणले जनाएको छ ।

Spread the love