६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको अर्थमन्त्रीको भनाइ

अर्थमन्त्री डा.युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताउनुभएको छ । ललितपुरको हरिहरभवन स्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशत भन्दा माथिको बहस हुने गरेको बताउनुभयो । उहाँले राज्यसत्तामा रहदा ३÷४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरु अहिले ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सर्नेगरेको बताउनुभयो । उहाँले ३÷४ प्रतिशत आर्थिक वृद्धि गर्र्नेहरु अहिले ६÷७ प्रतिशतको वृद्धिदर हुने र सरकारले लक्ष्य पुरा नहुने भन्दै आलोचना गर्न अग्रसर हुने गरेको बताउनुभयो । तालिम केन्द्रले अर्थतन्त्रको वास्तविक अवस्थाको विषयमा पनि विज्ञहरुसँग छलफल चलाउनुपर्नेमा जोड दिनुभयो ।
अर्थमन्त्री खतिवडाले दुई वर्षमा औषतभन्दा माथि उपलब्धि हासिल गर्न सकेको बताउनुभयो । उहाले आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण तथा समाजको रुपमान्तरणमा औषत भन्दा माथिको उपलब्धि भएको बताउनुभयो । उहाँले तालिम केन्द्र एउटा अवसर भएको र यसले अनुसन्धानलाई वृद्धि गरी तालिमको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले अनुसन्धान र तालिम अभिन्न अंग भएकाले अनुसन्धान विनाको प्रशिक्षण र तालिमको कुनै अर्थ नहुने उहाँले बताउनुभयो ।
कार्यक्रमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले दिने तालिमको मोडलमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले वित्तीय सघियताको पाटोमा अलिकति सुधार गर्नुपर्ने र त्यसका लागि तालिम केन्द्रको अभ्यास अगाडि बढाउनुपर्ने तालिम केन्द्रलाई अनुसन्धान उन्मुख बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा सरकारले एकिकृत वित्तीय विवरण तयार गर्ने अवस्थाको पुरानो परिपाटीलाई अन्त्य गर्न तालिम केन्दले महत्वपूर्ण कार्यक्रमहरु ल्याउन सक्नेमा जोड दिइएको थियो । त्यसका लागि तालिमकेन्द्रको नयाँ भवन उपयोगी हुने विश्वाश अर्थमन्त्री खतिवडाले गर्नुभयो । तालिम केन्द्रले नयाँ भवनको निर्माण २९ कारेड ३३ लाख ७ हजार रुपैयाँ सम्पन्न गर्ने लक्ष्य राखेको भएपनि २२ करोड ५२ लाख ३० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको जनाएको छ ।

Spread the love