नेकपाको सचिवालय बैठकले एमसीसीको विषयमा आवश्यक छलफल गरेर अगाडी बढ्ने निर्णय

शनिबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा आवश्यक छलफल गरेर अगाडी बढ्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सँझ बसेको बैठकले अर्को सचिवालय बैठकबाट आवश्यक निर्णय गरेर अगाडी बढ्ने निर्णय गरेको हो । नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमसीसी पारित गर्ने÷नगर्ने विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने बताउनुभयो । शनिबारको सचिवालय बैठकमा प्रतिवेदनलाई भाषिक रुपमा अन्तिम सम्पादन गरेर कार्यान्वयनका सम्बन्धमा अगाडी बढ्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । संशोधन गर्नुपर्ने विषयमा आवश्यक परे अमेरिकी सरकारसँग कुराकानी गर्न कार्यदलले सुझाव दिएको छ । अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनको विवरण पेश गर्नुभएको थियो । बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा लेनदेनको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिनुभएका गोकुल बास्कोटाका विषयमा अख्तियार लगायतका थप निकायले छानबिन गरिरहेको विषयमा पनि जानकारी गराइएको उहाँले बताउनुभयो । कार्यदलले झण्डै २० दिन लगाएर तयार पारेको प्रतिवेदन शुक्रबार अध्यक्षद्वयलाई बुझाएको थियो । नेकपा केन्द्रीय समिति बैठकले एमसीसीका विषयमा अध्ययन गर्न खनालको संयोजकत्वमा स्थयी समिति सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो ।

Spread the love