७२ घण्टा भित्र भरतपुरमा कोरोना विशेष अस्तपाल निर्माण

संक्रमण भएका बिरामीको उपचार गर्न अस्पताल निर्माण

 

घोषणा गरेको ७२ घण्टा भित्र चितवनको भरतपुरमा कोरोना विशेष अस्तपाल निर्माण गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका बिरामीको उपचार गर्न चितवनको भरतपुरमा ७० शैयाको अस्थायी अस्पतालको निर्माण गरिएको हो । भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्रमा कोरोना विशेष प्रकृतिको अस्थायी अस्पताल निर्माण गरिएको हो । कोरोना भाइरसको संक्रमणको आशंका भएका र परीक्षणपछि संक्रमण देखिएका बिरामीहरुलाई उपचार गर्नकालागि गत मंगलबार भरतपुर महानगरपालिका र जिल्लाका सरोकारवालाहरुको बैठकले अस्पताल बनाउने निर्णय गरेको थियो । अस्पतालमा १० बेडको आईसीयु, १० बेडको एचडीयु र ५० बेडको जनरल वार्ड रहने छ । शुक्रबार सम्म जनरल वार्डको निर्माण सम्पन्न भइसकेको र अवको दुई दिनमा आईसीयु र एचडीयु निर्माणको काम सम्पन्न हुने अस्पताल व्यवस्थापन समितिका संयोजक डा. भोजराज अधिकारीले बताउनुभयो । आईसीयु र एचडीयु निर्माण सम्पन्न नभएपनि अस्पतालले बिरामीलाई उपचार सेवा दिन सक्ने उहाँले बताउनुभयो । शुक्रबार नै बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले ७० शैयाको उक्त अस्थायी अस्तपालले सेवा आरम्भ गरेको घोषणा गर्नुभयो ।

 

Spread the love