एनआरएनएले ल्यायो २४ सै घन्टा हेल्पलाइन सेवा

लन्डन , गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २४ सै घन्टा सञ्चालन हुने टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस संक्रमणबाट विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुले सामना गरिरहेका समस्या सुनवाई गर्न सो सेवा सञ्चालनमा ल्याइएको एनआरएनए अध्यक्ष तथा कोबिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले जानकारी दिए । गैरआवासीय नेपाली संघको काठमाडौंस्थित सचिवालयबाट सो सेवा आज आइतवारदेखि सुरु हुने संघका महासचिव डा। हेमराज शर्माले बताए । कोरोना महामारीले विश्वमा भइरहेको लकडाउका कारणले विदेशमा अलपत्र परेका, बैदेशिक रोजगारी रहेका नेपालीलगायतले आ–आफ्ना समस्या सो हटलाइनमा फोन गरेर टिपाउन सक्ने छन् । यसअघि एनआरएनएले विश्वभर छरिएका नेपाली समुदायले स्वास्थ्यसम्वन्धी समस्याको सुनुवाई गर्न डा सञ्जीव सापकोटाका संयोजकत्वमा २४ सैं घन्टा स्वास्थ्य हेल्प लाइन सञ्चालनमा ल्याएको थियो ।

Spread the love