बाँकेमा थप ४७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि

बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा रहेको प्रयोगशालामा १ सय ९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । जस मध्ये ४६ जना पुरुष र १ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । एकै दिन एउटै जिल्लामा एकैपटक यति धेरै संक्रमण देखिएको यो पहिलो हो । यस्तै विराटनगर स्थित प्रयोगशालामा मोरङ जिल्लाका १ जना पुरुष र भैरहवाको प्रयोगशालामा गुल्मीका १ जना पुरुषमा पनि संक्रमण देखिएको छ । यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका १ जना, रौतहटका १ जना, दाङका १ जना र धादिङका १ जना गरी ४ जनाको रिपोर्ट पोजेटीभ आएको छ । यससँगै कुल संक्रमितको संख्या ३ सय ५७ जना पुगेको छ । जस मध्ये पुरुषको संख्या २ सय ९८ र महिलाको संख्या ५९ रहेको छ ।
अहिले सम्म कुल संक्रमित व्यक्तिहरुको स्थायी ठेगना रहेको जिल्ला ३१ पुगेको छ । प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ सय ३२, बागमती प्रदेशमा १८ जना (एक मृत्यु सहित), गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा १ सय ५९ जना (एक जनाको मृत्यु सहित), र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । अहिले सम्म कुल ३६ जनालाई निको भइसकेको छ ।
अहिले सम्म पीसीआर प्रविधिबाट गरिएको कुल परीक्षण ३० हजार ७ सय २३ पुगेको छ । आरडिटी विधिबाट गरिएको परीक्षणको संख्या ६९ हजार ५ सय ६० जना रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५८ पीसीआर परीक्षण भएको छ । त्यस्तै १ हजार ७ स ९१ आरडिटी परीक्षण भएको छ । अहिले सम्म प्रदेश नम्बर १ मा कुल आरडिटी परीक्षण ९ हजार २ सय १७, प्रदेश नम्बर २ मा ६ हजार २२, बागमती प्रदेशमा ११ हजार ९ सय २३, गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२, प्रदेश नम्बर ५ मा ९ हजार १ सय ३२, कर्णाली प्रदेशमा ७ हजार ५ सय ८० जना र सूदुरपश्चिम प्रदेशमा १८ हजार ७ सय ५४ जनाको परीक्षण भएको छ ।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको कुल संख्या २० हजार ९० पुगेको छ । जसमध्ये प्रदेश नम्बर १ मा १ हजार १ सय ८०, प्रदेश नम्बर २ मा ३ हजार ८०, बागमती प्रदेशमा २ सय ८५, गण्डकी प्रदेशमा ३ सय ९३, प्रदेश नम्बर ५ मा १२ हजार ८ सय १५, कर्णाली प्रदेशमा ७ सय ७ र सूदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ३० जना रहेका छन् । आइसोलेसनमा रहेका बिरामीहरुको संख्या अहिले सम्म ४ सय १२ रहेको छ । जसमध्ये काठमाडौं उपत्यकामा २६ जना रहेका छन भने उपत्यका बाहिर ३ सय ८६ जना रहेका छन् ।
सिन्धुपाल्चोक जिल्लामा कोभिड १९ बाट मृत्यु भएका महिलाको सम्पर्कमा आएकाको पहिचान गर्ने कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौं महाराजगंज स्थित टिचिङ अस्पतालमा १ सय ७० जनाको पीसीआर परीक्षणका लागि नमुना संकलन भएको छ ।

Spread the love