रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रर्दशनमा नेपाली कांग्रेसका पूर्व सांसद राजिवविक्रम शाही र दलित आयोगका पूर्व सदस्य मञ्जित ताम्राकार लगायतको उपस्थिति रहेको थियो । अहिलेको २१ औं सताब्दीमा पनि जातिय विभेदका नाममा हुने यस्ता अमानविय घटनाहरुको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् । दलित आयोगका पूर्व अध्यक्ष ताम्राकारले मृतकलाई शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्ने र पीडकलाई कडा कारवाही गर्नुपर्ने बताउनुभयो ।

पूर्व सांसद राजीव विक्रम शाहीले राज्यका हरेक निकायमा सम्पूर्ण जातजातिको समान सहभागिता हुनेगरी संविधानमा उल्लेख भएपनि अझै समुदायस्तरमा चेतनाको कमिका यस्ता घटनाहरु हुने गरेको बताउनुभयो । ग्रामिण क्षेत्रमा जातिय विभेद विरुद्धका अभियानहरु सरकारले सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्नुभयो ।

शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हामफाल्दा मृत्यु भएको छ । तीन जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् ।

Spread the love