कोरोना भाइरस संक्रमणको रोकथामका लागि तयारी चुस्त दुरुस्त पार्न सरकारको ध्यानाकर्षण

सांसदहरुले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीलाई चुस्त दुरुस्त पार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोरोना भाइरस संक्रमितको संख्या दैनीक बढीरहदा भारतीय सिमा र तराईका जिल्लामा परीक्षण किटको अभाव भएको भन्दै उनीहरुले आवश्यक स्वास्थ्यसामाग्री आपुर्तिको व्यवस्थालाई चुस्त दुरुस्त राख्न माग गरेका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले क्वारेन्टाइन र आईसोलेसनको संख्या बढाउनुको साथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनलाई व्यवस्थित बनाउन पनि सरकारको ध्यानाकर्षण गराए । त्यसैगरी रुकुमपश्चिमको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न, खेती लगाउने समय भएकाले किसानलाई धानको विउ र मल सुलभ ढंगले उपलब्ध गराउन, लकडाउनबाट प्रभावितका लागि राहतको व्यवस्था गर्न पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद बिमला बिकले बर्दियामा कोरोना भाइरस परीक्षण गर्ने सामाग्री अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले तराईका जिल्लामा क्वारेन्टाइन, आइसोलसन र परीक्षण बढाउनुको साथै बर्दिया जिल्लामा कोरोना विशेष अस्पताल बनाउन पनि माग गर्नुभयो ।

सांसद भिमसेनदास प्रधानले काठमाण्डौका नाकामा रातभर आवतजावत भईरहेको भन्दै नाका सिल गरि काठमाण्डौमा क्वारेन्टाइन क्षमता बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भैरव बहादुर सिंहले विश्व स्वास्थ्य संगठनले जारी गरेको मुल्य मान्यता विपरित क्वारेन्टाइनमा बसेका नेपालीलाई भारतले लखेट्ने काम गरेको तथा भारतबाट फर्किएकालाई राख्नका लागि सिमा जिल्लामा क्वारेन्टाइन अभाव भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद यज्ञ बहादुर बोगटीले अछाम जिल्ला कोरोना भाइरस परीक्षण किटको अभाव भएको भन्दै तत्काल आवश्यक किटको व्यवस्थापन गर्न माग गर्नुभयो । उहाँले ठूलो संख्यामा भारतबाट फर्किएकाहरुको किट अभावका कारण परीक्षण हुन नसकेको गुनासो गर्नुभयो ।

सांसद रंगमती शाहीले सांसद विकास कोषको रकम स्वास्थ्य परीक्षण र स्वास्थ्य सामग्री खरिदमा लगाउन आग्रह गर्नुभयो । अहिले सांसदहरुको भूमिका कोष चलाउने नभएर जोस चलाउने भएको भन्दै उहाँले विकास निर्माणमा पठाउनुभन्दा त्यसको अनुगमनमा सिमित राख्नुपर्ने बताउनुभयो ।

सांसद रविन्द्रराज शर्माले पीसीआर मेसिन र परीक्षण किटको सिघ्र व्यवस्थापन गर्न सांसद विकास कोषको रकम खर्च गर्नुपर्ने बताउनुभयो । दैलेखमा ४० हजार बढी नागरिक भारतबनाट भित्रिने अवस्था रहेको र हाल ५० वटा मात्रै पीसीआर परीक्षण किट रहेकाले तत्काल आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न नसके महामारी फैलिन सक्ने चेतावनी दिनुभयो ।
सांसद राजबहादुर बुढा क्षेत्रीले भारतबाट आउने नागरिकसँगै कोरोना पनि आउने भएकाले नियन्त्रण तथा रोकथामका लागि आवश्यक जनशक्ति र भौतिक पूर्वाधार निर्माणका लागि केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई रकम उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

सांसद राजेन्द्र कुमार केसीले आरडिटी विधिबाट हुने परीक्षण रोक्न माग गर्नुभयो । उहाँले विश्व स्वास्थ्य संगठनले समेत मान्यता नदिएको आरडिटी परीक्षणमा जनतालाई किन अलमल पार्नुहुन्छ ? भनी प्रश्न गर्नुभयो ।

सांसद रेखा शर्माले भारतबाट ठूलो संख्यामा संक्रमितहरु आइरहेकाले कोरोना भाइरसको परक्षिण र क्वारेन्टाइनको उचित व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।

सांसद लक्ष्मी कुमारी चौधरीले कोरोनाबाट सुदूरपश्चिम उच्च जोखिम रहेकोले पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गर्नुभयो ।

 

Spread the love