७ प्रतिशतले आर्थिक वृद्धि भए राजनीति नै छोडिदिन्छु : जितेन्द्रनारायण देव

नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न सरकारलाई चुनौती दिनुभएको छ ।

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि भए राजनीति नै त्याग्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले सबभन्दा ठूलो च्यालेन्ज भनेको देशमा इकोनोमिक क्रियाकलापलाई अगाडि बढाउनु पर्ने हो, एउटा आर्थिक पुनरउत्थानको कामलाई अगाडि बढाउनुपर्ने हो मेरो चुनौति छ नेपाल सरकार र अर्थमन्त्रीलाई यदि ७ प्रतिशतको जिडिपिको ग्रोथ रेट २०७७÷/७८ मा भायो भने म राजनीति छोडिदिन्छु ।’

बैठकमा सांसद देवले बजेटको कुन वर्षका लागि आएको हो भन्दै प्रश्न गर्नुभयो । ‘यो समाजको सुकिला मुकिलाहरुको मात्रै बजेट हो की, यो समाजको सुट र टाई लगाउने वर्गको मात्रै बजेट हो की यो समाजमा मुस्ताङी स्याउ जस्तो रातो रातो गाला भएको हरुको मात्रै बजेट हो की ?,’ उहाँले भन्नुभयो ।

बजेटमा सिमान्तकृत, विपन्न र गरिब नागरिकलाई नसमेटिएको उहाँले बताउनुभयो । धेरै ठाउँमा जनताहरु खाना नपाएर भोकले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘लकडाउनका कारण आज सप्तरी जिल्लामा मलरसदाले खान नपाएर भोकभोकै प्राण त्याग ग¥यो । खान नपाएर भोक भोकै कीर्तिपुरको रोडमा सुर्यवहादुर तामाङ दाम्लो र डोको छातिमा राखेर प्राण त्याग ग¥यो । आज हजारौं लाखौं मलरसदा र सुर्यवहादुर तामाङ यो मुलुकमा छन् । त्यसको लागि राहत, त्यसको लागि सहयोग, त्यसको लागि बजेट खोई ? कहाँ बजेट विनियोजन भएको छ त्यसको लागि । के त्यसको लागि बजेट विनियोजन हुनुहुँदैन थियो ?’

उहाँले सरकारलाई गरिबमारा बजेट ल्याएको आरोप लगाउनुभयो । लकडाउनको कारण आपूर्ति शून्य भएकाले कलोबजारी र विचौलियाको संख्या बढेको र कृतिम अभाव तथा महंगीलाई रोक्ने खालको बजेट नआएको बताउनुभयो । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा पनि सरकारले ६ अर्ब मात्रै बजेट छुट्याएको भन्दै आपत्ति जनाउनुभयो । पीसीआर परीक्षण गर्न समेत नपुग्ने बजेट आएको उल्लेख गर्दै उहााले कोरोना रोकथामका लागि अझै बजेट बढाउनुपर्ने बताउनुभयो ।

कृषि क्षेत्रमा गतवर्ष भन्दा केही बजेट बढाइएको भएपनि मलखादमा ५ प्रतिशत र विउविजनमा १५ प्रतिशत कर बढाएर कृषि क्रान्ति नहुने बताउनुभयो ।

Spread the love