बैशाख २६ गतेबाट सुरु भएको बजेट अधिवेशन बिहीबारबाट अन्त्य

संसद अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको हो । बैशाख २६ गतेबाट सुरु भएको बजेट अधिवेशन बिहीबार अपराह्न ५ बजेटबाट अन्त्य भएको जानकारी राष्ट्रपतिले संघीय संसदलाई गराउनुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७ असार १८ गतेको सिफसिरिमा संघीय संसदको दुबै सदनको चालु अधिवेशन २०७७ असार १८ गते बिहीबारका दिन अपराह्न ५ बजेबाट अन्त्य गरेको छु । राष्ट्रपतिले संसदमा पठाएको पत्रमा उल्लेख गरिएको छ ।
बिहीबार दिउँसो १ बजेट राष्ट्रियसभा बैठक चलिरहेकै बेला मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । अधिवेशन अन्त्य हुनेभएपछि राष्ट्रियसभाको दोस्रो बैठक आजै साढे २ बजे बसेको थियो । सो बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाउनुभएको थियो । कोरोना संक्रमणको जोखिमकै बीच सुरु भएको बजेट अधिवेशनबाट सरकारले नीति तथा कार्यक्रम, बजेट र केही विधेयकहरु पारित गरेको छ । केही विवादित विषयहरु (एमसीसी, नागरिकता विधेयक र निजामति विधेयक) का विषयमा यहि अधिवेशनमा छलफल भएर टुंगो लाग्ने विश्वास गएिको थियो ।
प्रधानमन्त्रीले प्रतिनिधिसभाका सभामुखसँग समेत कुनै परामर्श नगरी बैठक स्थगित गर्नुभएको हो । प्रतिनिधिसभाको बैठक असार २२ गतेका लागि बोलाइएको थियो । संसद सचिवालयले सूचना जारी गर्दै आजबाट संसद अधिवेशन स्वत अन्त्य हुने भएकाले २२ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक समेत स्वतः अन्त्य भएको जानकारी गराएको छ ।
संसदको छैटौं (बर्षे) अधिवेशनबाट १० वटा विधेयकहरु पारित भएका छन् । संसदको कुल २६ वटा बैठक बसेको थियो । संसदले गरेका मूख्य कार्यहरुमा संविधान संसोधन विधेयक सर्वसम्मतीले पारित, विनियोजन विधेयक र आश्रीत विधेयकहरु पारित, कोरोना महामारीबाट बच्न अपनाइएको अभूतपूर्व सावधानी र चुस्त व्यबस्थापन, कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा पनि सदन सञ्चालन, कोरोना परिक्षण नगरिएका कसैलाई पनि प्रवेश नदिइएको, स्वास्थ्यका विषयमा विशेष सतर्कता अपनाईएको र कार्यव्यबस्था परामर्श समितिको बैठक मार्फत दलहरुसंग परामर्श रहेका छन् ।

Spread the love