संविधानको मर्म र भावना अनुरुप नै निजामती विधेयक आउछ सभामुख

सभामुख अग्नीप्रसाद सापकोटाले संविधानको मूल मर्म र भावना अनुरुप नै संघीय निजामती सेवाको विधेयक आउने बताउनुभएको छ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरुसँगको भेटका क्रममा बिहीबार सभामुख सापकोटाले संविधानको मर्म र भावना अनुरुप ने निजामती विधेयक आउने बताउनुभएको हो । ट्रेड युनियनले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रेड युनियनलाई ध्वस्त पार्ने व्यवस्था गरिएको भन्दै सभामुख सापकोटालाई भेट गरी ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै सभामुख सापकोटाले विधेयको सम्बन्धमा आफुले अध्ययन गरिराखेको र मन्त्रीसँग पनि छलफल गरी संविधानको मर्म अनुरुप नै अगाडि बढ्ने बताउनुभयो । उहाँले संविधानको मर्म र भावना अनुरुप नै विधेयकको विकास गर्न आफुले अधिकतम प्रयत्न गर्ने समेत बताउनुभयो ।

भेटवार्तामा टे«ड युनियनका पदाधिकारीहरुले विधेयकमा राष्ट्रिय स्तरका ट्रेड युनियनहरु नै नरहने गरी संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित भइसकेको भन्दै त्यसलाई रोक्न माग गरेका हुन् । उनीहरुले मौजुदा निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्था बमोजिम नै संशोधित विधेयकमा व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल गरी बहुमतले पारीत गरिसकेको छ ।

Spread the love