पर्यटन विभागको चालू आर्थिक वर्षका कार्यप्रगतिबारे सांसदहरुलाई जानकारी

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपालका पर्यटन व्यवसायी र होटल व्यवसायीलाई पर्यटन विभागमा दर्ता गर्न सूचना जारी गरी प्रोत्साहन गरिएको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पर्यटन विभागको चालू आर्थिक वर्षका कार्यप्रगतिबारे सांसदहरुलाई जानकारी गराउँदै सबै होटल व्यवसायी र पर्यटन व्यवसायीलाई विभागमा दर्ता गर्ने प्रणालीको विकास गरिएको महानिर्देशक घिमिरेले बताउनुभयो । उहाँले विभागमा दर्ता नभए कुनैपनि होटल व्यवसायी तथा पर्यटन व्यवसायीहरु इमिग्रेसनको दर्ता च्वाइसमा नपर्ने र पर्यटकहरु नआउने भएकाले दर्ता गर्न सूचना जारी गरिएको बताउनुभयो ।
यस्तै नेपाल भित्र घुम्न आउने पर्यटकहरुलाई ट्रयाकिङ गर्ने प्रणालीको समेत विकास गरिएको बताउनुभयो । यससँगै कुनै पनि पर्यटक कुन होटलमा गएर बसेको छ भन्ने कुराको ट्रयाक विभागले गर्न सक्ने उहाँले बताउनुभयो । विभागमा दर्ता भएका होटलहरुले पर्यटकको पासपोर्ट इन्ट्री गर्नुपर्ने र त्यसको जानकारी प्रणालीबाट तत्काल जानकारी लिन सकिने कुराको विकास गरिको बताउनुभयो । यसबाहेक टुरीजम व्यवसायीहरुलाई कोरोनाको सन्दर्भमा पर्ने असरको बारेमा लकडाउन हुन अघि नै तालिम मार्फत जानकारी गराइएको बताउनुभयो ।

बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले नेपालमा कति होटल छन र तिनमा कति कोठाहरु छन भन्ने सूचना अझैपनि नरहेको बताउनुभयो । ति जानकारीहरु एकै प्लाटफर्ममार्फत थाहा पाउने व्यवस्था गर्न चुनौति रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको प्रचार प्रसारका लागि नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष र यस अघिका वर्षहरुमा डेढ अर्ब रुपैयाँ सम्मको बजेट बनाएकोमा आगामी आर्थिक वर्षकालागि ८ देखि १० करोड सम्मको मात्र बजेट बनेको बताउनुभयो । आगामी आर्थिक वर्षमा १० करोड बजेटले डेढ अर्ब रुपैयाँको काम गर्नुपर्ने चुनौति बोर्डसँग रहेको जानकारी गराउनुभयो ।
जसले गर्दा नेपालका पर्यटकीय क्षेत्रहरुको डिजिटल मार्केटिङको काममा केही कमि हुन सक्ने बताउनुभयो । उहाँले बोर्डको अवको रणनीति विदेशमा नगइकन नेपालमै बसेर नेपालमै बोलाएर मार्केटिङ गर्ने र डिजिटल मार्केटिङ मार्फत मात्रै प्रचारप्रसारको काम गरिने योजना तयार गरिएको बतउनुभयो । उहाँले बोर्डले कोभिड १९ बाट सबैभन्दा धेरै पर्यटन व्यवसायी र पर्यटन श्रमिकहरु परेकाले उनीहरुलाई सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा ड्राफ्ट तयार गरेर मन्त्रालय मार्फत राष्ट्र बैंक सम्म पु¥याइएको बताउनुभयो ।

बैठकमा सांसदहरुले नेपालको सांस्कृतिक क्षेत्रको संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्न अझै धेरै काम गर्नुपर्ने बताए । अहिले सम्म नेपालको पर्यटन क्षेत्रको विकासका लागि काम हुन नसकेको तर धेरै नै बजेट खर्च हुने गरेको सांसदहरुले बताए । स्थानीय संस्कृति र पुराना संस्कृतिको संरक्षण गर्दै आधुनिक किसिमले पर्यटन व्यवसायलाई अगाडि बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

Spread the love