बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको भन्दै उद्योगी व्यवसायीहरुद्धारा ध्यानाकर्षण

उद्योगी व्यवसायीहरुले कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको भन्दै सडकबाट ध्यानाकर्षण गराएका छन् । काठमाडौं जिल्लाका उद्योगी व्यवसायीहरुका विभिन्न २१ वटा संगठनहरु मिलेर बनेको काठमाडौं जिल्ला उद्योगी व्यवसायी कोभिड १९ संकट व्यवस्थापन समितिले काठमाडौंको बसन्तपुर न्यूरोड क्षेत्रमा ध्यानाकर्षण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा समितिका संयोजक एवं नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यवसायीहरुलाई बैंकको ब्याज र किस्ता, सरकारलाई डिमाण्ड शुल्क, घरबेटीलाई घरभाडा बुझाउन समस्या भएकाले समय थप गरिदिन आग्रह गर्नेगरी सम्बन्धित सबैपक्षलाई सडकमा आई ध्यानाकर्षण गरिएको बताउनुभयो ।
उहँले अदालतले पनि लकडाउनको अवधिलाई शुन्य समय मान्ने निर्णय गरेको अवस्थामा पनि नियामक निकाय नेपाल राष्ट्र बैंकको स्पस्ट नीति नआउँदा बैंकहरुले ब्याज र किस्ताका लागि ताकेता गरिरहेको तर उद्योगी व्यवसायीहरु तिर्न सक्ने अवस्थामा नरहेकाले ध्यानाकर्षण गर्नुपरेको बताउनुभयो । उहाँले असार महिना भित्र तिर्नुपर्ने बैंकको किस्ता र ब्याज तिर्ने समय थप गर्न राष्ट्र बैंक समक्ष माग गरिएको बताउनुभयो ।
उद्योगी व्यवसायीहरु आफु पनि बाचौं अरुलाई पनि बचाऔं, कोरोनामय अर्थतन्त्र सबैमिलि जोगाऔं, उद्योगी व्यवसायी घरधनी बैैंक सबै मिलौं, सहकार्य र सहयोगको वातावरण बनाऔं, घरधनी हामीलाई प्यारो छ, महामारीमा हामीलाई गाह्रो छ, जबरजस्ती ब्याज असुल गर्न बन्द गर लेखिएका ब्यान लिएर सडकमा उभिएका थिए

Spread the love