काठमाडौं महानगरपालिकाद्धारा ६ ओटा ए डिभिजन क्लबलाई १० लाख रुपैयाका दरले आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका ६ ओटा ए डिभिजन क्लबलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । महानगरपालिकाले सोमबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रम आयोजना गरी उक्त रकम हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका ६ ओटा क्लवलाई प्रति क्लव १० लाख रुपैयाँका दरले सहयोग हस्तान्तरण गर्नुभयो । महानगरपालिकाबाट मछिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौं खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मस्र्याङ्दी कल्बले आर्थिक सहयोग पाएका हुन् ।
सहयोग हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै महनगरका प्रमुख शाक्यले खेलकुदको विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले महानगरले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा लगानी बढाउँदै जाने नीति लिएको र खेलकुदको विकासका लागि सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको बताउनुभयो । उहाँले महानगरभित्र रहेका ए डिभिजनलाई १० लाख रुपैयाँ, बि डिभिजनलाई ३ लाख रुपैयाँ र सी डिभिजनलाई २ लाख रुपैयाँका दरले सहयोग गर्दै आएको र आगामी वर्ष देखि सहयोग रकमलाई वृद्धि गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

कोभिड १९ महामारीका कारण विगतका वर्षमा जस्तै ए, बि र सी डिभिजनका क्लबहरुलाई एकैसाथ सहयोग गर्न नसकिएको उहाँले बताउनुभयो । पहिलो चरणमा ए डिभिजनलाई सहयोग गरिएको र यसपछि छिट्टै नै बि र सी लाई पनि सहयोग उपलब्ध गराउने उहाँले बताउनुभयो । कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले महानगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि गरेको सहयोगको प्रसंशा गर्नुभयो । काठमाडौं महानगरपालिकाले गत वर्ष पनि ए, बि र सी डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको थियो ।

Spread the love