रुग्ण पुलहरुको कार्ययोजना तयार गरी निर्माण सुरु गर्न नेपाल सरकारलाई निर्देशन

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले देशभरका रणनीतिक सडक अन्तर्गत रुग्ण पुलहरुको कार्ययोजना तयार गरी निर्माण सुरु गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । विभिन्न निर्माणाधिन पुलहरुको सन्दर्भमा छलफल गर्न बसेको समितिको बैठकले देशभर रहेका पुराना एवं रुग्ण पुलहरुको अवस्थाको विवरण तयार गरी कार्ययोजना सहित निर्माण प्रक्रिया सुरु गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति कल्याणी कुमारी खड्काले देशभरका रणनीतिक सडक अन्तर्गत रहेका पुराना एवं रुग्ण पुलहरुको अवस्था सम्बन्धी विवरण तयार गरी गुणस्तरिय रुपमा निर्माण सम्पन्न गर्न निर्देशन दिइएको बताउनुभयो ।

समितिले काठमाडौंको टेकु स्थित विष्णुमती पुलको प्राविधिक पक्ष र गुणस्तरमा कमि भएको अवस्थामा सम्बन्धित पक्षलाई कारबाही भएको सम्बन्धी विवरण उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको छ । निर्माणधिन तिनकुनेको बागमती पुल, हुलाकी राजमार्गमा पर्ने बागमती पुल र रौतहतको टिकुलियामा रहेको पुलको निर्माण समयमै सम्पन्न नगर्नेमाथि कस्तो कारबाही भएको छ विवरण उपलब्ध गराउन समेत मन्त्रालयलाई निर्देशन दिइएको सभापति खडकाले बताउनुभयो ।

समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्राविधिक जनशक्ति अभावका कारण विकास र पूर्वाधारका कामहरुमा असर परेको भन्दै पदपूर्तिको व्यवस्था मिलाउन अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनशक्ति परिपूर्ति गर्न तयार पारेको ओएनएम रिपोर्ट स्वीकृत गरी मन्त्रालयको कामकाजमा सहजता लयाउने वातावरण निर्माण गर्न निर्देशन दिइएको सभापति खड्काले बताउनुभो ।

Spread the love