विकास तथा प्रविधि समितिको निर्देशन

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसदमा पेश गरी छलफल गर्ने नीतिगत व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकले आयोगको वार्षिक प्रतिवेदन संसदमा छलफल गर्ने नीतिगत व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो । समितिको बैठकमा राष्ट्रिय सूचना आयोगबाट सम्पादित कार्यहरु र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल भएको थियो । समितिका सभापति कल्याणी कुमारी खडकाले बैठकको निर्णयहरु सुनाउँदै आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश हुने गरेको तर त्यसमाथि कुनै छलफल नभएकोले संसदमा पेश गरी छलफल गर्ने नीतिगत व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

समितिले सूचना प्रविधिको युगमा पनि नेपाली नागरिकले भौतिक रुपमा उपस्थित भई सूचना लिनुपर्ने अवस्था रहकोले तयसको अत्य गरी वेबसाइट, इमेल, इन्टरनेट मार्फत सूचना पाउने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगलाई निर्देशन दिएको छ । समितिले सार्वजनिक तथा निजी क्षेत्रका सबै निकायले सूचना अधिकारी तोकि कार्यसम्पादनलाई तीनतीन महिनामा प्रकाशन गर्ने व्यवस्था मिलाउन र सूचना सार्वजनिक नगर्ने निकायलाई तत्काल कानूनी कारबाही गरी १५ दिन भित्र समितिलाई जानकारी गराउन राष्ट्रिय सूचना आयोगलाई निर्देशन दिएको छ ।
समितिले नागरिक, सरकार, जनप्रतिनिधि लगायतका सबै पक्षलाई सूचनाको हक कार्यान्वयन गराउन क्रियाशिल रहेको राष्ट्रिय सूचना आयोगलाई सहज र प्रभावकारी रुपमा काम गर्ने वातावारण निर्माण गर्न प्रयाप्त स्रोत साधन र आवश्यक जनशक्ति सहति भौतिक संरचनाको तत्काल व्यवस्था गर्न समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।

Spread the love