नेपाल उद्योग वाणिज्य महासंघद्धारा साधारणसभाको मिति तय गर्नका लागि समिति गठन

नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभाको मिति तय गर्नका लागि समिति गठन गरेको छ । महासंघको कार्यकारिणी समितिको भर्चुअल बैठकले ५४ औं वार्षिक साधारणसभा र निर्वाचनको मिति र मोडालिटी तयार गरी सुझाव पेश गर्न ६ सदस्य रहेको समिति गठन गरेको छ । त्यस्तै साउन २६ र २७ गतेका लागि तय भएको निर्वाचन सार्ने निर्णयलाई पनि अनुमोदन गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएटको तर्फबाट दुईदुई जना कार्यसमिति सदस्य रहेको समिति बनाउने निर्णय भएको बताउनुभयो । समितिले १५ दिन भित्र साधारणसभाको मिति र मोडालिटी तयार गरी महासंघको पदाधिकारी समितिमा पेश गर्ने छ । पदाधिकारी समतिलिे उक्त सुझावलाई कार्यकारिणी समितिमा पेश गर्ने र सोही अनुसार नै निर्णय हुने ढकालले बताउनुभयो ।

मिति र मोडालिटी तयार गर्न गठित समितिले दिएको सुझावका आधारमा कार्यकारिणी समतिलिे सरकारसँग अनुमतिका लागि पत्राचार गर्ने समेत ढकालले बताउनुभयो । २०७६ चैत मसान्त भित्र सम्पन्न गर्नुपर्ने महासंघको वार्षिक साधारा सभा कोभिड १९ को महामारीका कारण अहिले सम्म हुन सकेको छैन् । जसका कारण कार्यकारिणी समितिको निर्वाचन हुन नसक्दा महासंघले नयाँ नेतृत्व पाउन सकेको छैन् ।

Spread the love