सरकारले रुकुम घटनाका मृतकका परिवारलाई प्रतिपरिवार १० लाख राहात दिने

सरकारले पश्चिम रुकुम सोती घटनाका मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहात दिने भएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले पश्चिम रुकुमको सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको हो । गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार १० लाखका दरले राहात दिने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभयो । घाइतेहरुको सम्पूर्ण खर्चपनि सरकारले व्यहोर्ने निर्णय भएको छ ।

घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र संजीव विकको हत्या भएको थियो । यस्तै भेरी ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुमको चौरजहारी १ का टिकाराम नेपालीको हत्या भएको थियो । घटनामा भेरी ४ का लालबहादुर खड्का, मदन शाह, सरोज भडेल, आशिष विक, सुदिप खड्का घाइते भएका छन । यस्तै भेरी ३ का विभाग पुन, इन्द्रगंज शाही, भेरी १३ का भोला विसी, भेरी ११ का गोविन्द सुनार, भेरी ३ का महेश कार्की, सल्यानको कुमाख ४ का डिल्ली विक र बाँकेको राप्ती सोनारी ४ का सुनिल सुनार घाइते भएका छन ।

सरकारले खाद्य पदार्थहरुको गुणस्तर निर्धारण सम्बन्धि आदेश स्वीकृत गरेको छ । आदेश स्वीकृत भएसँगै स्थानीय खाद्य उत्पादनको गुणस्तर मापदण्ड तोकिने छ ।
मन्त्रिपरिषदले राष्ट्रिय जनगणना वि.स.२०७८ का लागि घर तथा घर परिवार सूचीकरण फारम र मुख्य प्रश्नावली पनि स्वीकृत गरेको छ । यस्तै सुपरमाइ क्यासकेड जल विद्युत आयोजना र गच्र्याङ खोला साना जलविद्युत आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि सरकारले गरेको उहाँले बताउनुभयो । यसैगरी नेपाल बंगलादेश वाणिज्य सचिव स्तरको छैठौँ बैठकका लागि वार्ता गर्न सचिवको संयोजकत्वमा ११ सदस्य रहेको वार्ता टोली गठन पनि भएको छ ।

Spread the love