सहरी विकास राज्यमन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुख कोे टोलिले गरे रानी पोखरी पुनर्निमार्णको स्थलगत निरीक्षण

सहरी विकास राज्यमन्त्री रामविर मानन्धर र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सहितको टोलिले रानी पोखरी पुनर्निमार्णको स्थलगत निरीक्षण गरेको छ । शुक्रबार सहरी विकास राज्यमन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुख सहितको टोलिले रानीपोखरी पुनर्निमार्णको निरीक्षण गरेको हो । निरिक्षणका क्रममा सहरी विकास राज्यमन्त्री मानन्धरले कोभिड महामारी कायम रहेपनि रानीपोखरीको पुनर्निर्माण कार्य सम्पन्न गरी उद्घाटन गरिने बताउनुभयो । उहाँले रानीपोखरी ऐतिहासिक, सांस्कृतिक, पुरातत्विकसँग मात्र नजोडिएर प्रेम काहानीसँग समेत जोडिएकाले काठमाडौंबासिको गौरव र जीवनसँग जोडिएको बताउनुभयो । रानीपोखरीको पुनर्निर्माणलाई महत्व दिएर काम गर्न आग्रह गर्दै कुनै समस्या भए मन्त्रालयबाट सक्दो सहयोग हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

रानीपोखरी निर्माणका क्रममा सुरुमा विवाद आएपछि पुनर्निमाण प्राधिकरण मार्फत उपभोक्ता समितिले कामको जिम्मा लिएको थियो । महानगरपालिकाका मेयर शाक्यले विज्ञ टिमको सुझाव अनुसार प्रताप मल्लकालीन शैली, स्वरुप र निर्माण सामग्री प्रयोग गरी रानीपोखरी बनाउने प्रतिवद्धता जनाई उपभोक्ता समिति मार्फत काम गराइएको बताउनुभयो । उपभोक्ता समितिले स्थानीय स्तरमा देखिएका विवादहरुलाई समाधान गर्दै कामलाई अगाडि बढाउँदा केही ढिलाई भएपनि अपेक्षा गरिए अनुसार नै काम भएको मेयर शाक्यले बताउनुभयो ।

रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले पनि स्थानीय स्तरमा देखिएको विवादका कारण निर्माणमा केही ढिलाइ भएको बताएको छ । समितिका अध्यक्ष अजय स्थापितले आफुहरुको यस काममा अनुभव नभएपनि स्थानीय स्तरमा देखिएका समस्या र अवरोधलाई मिलाउँदै कामलाई अगाडि बढाइएको बताउनुभयो । समितिका सचिव रोशन तुलाधरले करिब २५ करोड रुपैयाँ बराबरको बजेटबाट रानीपोखरीको पुनर्निर्माण सम्पन्न हुने बताउनुभयो ।

यसअघि रानीपोखरीको पुनर्निमार्णको काम महानगरपालिकाले आफै गर्दा यसको शैली र पुरातत्व विगारेको भन्दै विवाद भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत उपभोक्ता समितिले काम सुरु गरेको हो । तर निर्धारित समयमा भने काम सम्पन्न हुन सकेन । पछिल्लो समय कोभिड १९ का कारण देशभर लकडाउन हुँदा पुनर्निर्माणको काम केही प्रभावित भएको थियो । तरपनि लकडाउन खुकुलो भएसँगै कामलाई निरन्तरता दिन सक्दा पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेको उपभोक्ता समितिले बताएको छ । रानीपोखरीको पुनर्निमार्ण परम्परागत शैली र मौलिकता संरक्षण गरी प्रताप मल्लकालीन शैलीमा पुनर्निमार्ण भएको हो ।

Spread the love