सरकारको आदेश विपरित काठमाडौं उपत्यकाभित्रको बजार हरेक दिन सञ्चालनमा आयोे

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको आदेश विपरित काठमाडौं उपत्यकाभित्रको बजार सञ्चालनमा आएको छ । उपत्यका भित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते तीन साता लामो निषेधाज्ञालाई खुकुलो बनाई सातामा तीन दिन पसल सञ्चालन गर्न पाउने गरी दिन नै तोकेको छ । तर हरेक दिन सबैजसो पसल व्यवसाय सञ्चालन हुन थालेका छन् । जसका कारण काठमाडौंको न्यूरोड, असन, महाबौद्ध क्षेत्रमा भिडभाड बढेको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते तीन साता लामो निषेधाज्ञालाई खुकुलो पार्दै पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
जस अनुसार खाद्यवस्तु, दुधजग्य पदार्थ, फलफुल, तरकारी, माछामासु लगायतका पसलहरु दैनिक विहान ११ बजे सम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने छ । तर सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ । भाँडा र भान्साजन्य सोही प्रकृतिका सबै पसलहरु आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइनेछ । फर्निचर, अटो मोबाइल सम्बन्धि पसलहरु भने सोमबार र बुधबार मात्र खोल्न पाइने नियम लगाइएको छ । तर आइतबार उपत्यकाका विभिन्न बजार क्षेत्रमा पुग्दा सबैखाले पसलहरु सञ्चालनमा आएको पाइएको छ । त्योपनि तोकिएको मापदण्ड पालना नगरी ।
काठमाडौंको इन्द्रचोक, असन, महाबौद्ध लगायतका व्यापारिक क्षेत्रमा पुग्दा अधिकांश पसलहरु सञ्चालनमा आएका छन् । सरकारले तोके अनुसार आज (आइतबार) भाँडा र भान्सा जन्य पसलहरु, अटोमोबाइल, फर्निचार मात्रै खोल्न पाईन्छ । तर सबै फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल समेत खुलेको पाइएको छ । जुन सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइने छ । सरकारको आदेश विपरित सञ्चालनमा आएका यस्ता पसलहरुमा मापदण्ड समेत पालना नभएको पाइएको छ । केही व्यवसायीहरु मास्क समेत नलगाएका देखिन्छन् । बाजरमा किनमेल गर्न पुगेका उपभोक्ताहरु पनि व्यवसायीहरुले कोभिड संक्रमण रोकथामका लागि कुनैपनि मापदण्ड पालना नगरेको बताउँछन् ।
सरकारले फुटपाथ, ठेला व्यापार, स्टेशनरी पसल, इलोक्ट्रोनिक्स पसल, डिपार्टमेन्टल स्टोर लगायतलाई बिहान ११ बजे सम्म र बेलुकी ४ बजे देखि ७ बजे सम्म मात्रै खोल्न पाउने नियम बनाईदिएको छ । तर यस्ता पसलहरु दिनभर खुल्ने गरेका छन् । सरकारले पसल सञ्चालनमा मापदण्ड पालना भए नभएको अनुगमन नगर्दाको फाइदा व्यवसायीहरुले भरपुर लिएका छन् ।

Spread the love