बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापनमा स्थानीय तहसँगको समन्वयनमा गरिने

बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयनमा गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. अनिल पोखरेलले स्थानीय तहको नेतृत्वमा लाभग्राही पहिचान गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण गर्नेगरी कार्यविधि तयार पारिएको बताउनुभएको छ । कार्यविधि अनुसार विपद व्यवस्थापनको काम सम्बन्धित स्थानीय तहले नै गर्नेछन भने प्राधिकरणले आवश्यक समन्वय गर्नेछ । स्थानीय सरकारलाई सहयोग गर्न जिल्ला विपद व्यवस्थापन समिति, प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने काम प्राधिकरणले गर्ने पोखरेलले बताउनुभयो । पुनस्थापनमा पछि जीविको पार्जनका लागि विभिन्न संघसंस्था र निजी क्षेत्रसँग सम्न्वय गरी विभिन्न कार्यक्रमहरु लागू गरिने पनि उहाँले बताउनुभयो । यस्तै बाढी पहिरोबाट हुने क्षतिको वित्तीय व्यवस्थापनको दिर्घकालीन समाधान खोज्ने काम पनि प्राधिकरणले गर्नेछ । प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार जोखिमका लागि वित्तीय लगानीको अवधारणा अनुसार घर तथा सम्पत्तिको बीमा  गर्ने लगायतका औजारहरुको प्रयोग गरिनेछ ।

सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, जाजरकोट, आछाम लगायतका जिल्लामा बाढी पहिरोबाट भएको क्षति र तीनका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम शुरु भइसकेको पनि उहाँले बताउनुभयो । प्राधिकरणको कार्यकारी समितिले तयार पारेको कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै विपद व्यवस्थापनका अन्य कार्यक्रमहरुलाई अगाडि बढाउने पनि पोखरेलले बताउनुभयो । यस्तै प्राधिकरणले बाढी, पहिरो, आगलागि, भूकम्प लगायतबाट हुने विपदको व्यवस्थापनका लागि वृहत कार्यविधि तयार गरी काम गर्न लागेको पनि उहाँले बताउनुभयो ।

Spread the love