दशैंको समयमा अटो व्यवसायमा वृद्धि

गत चैत ११ गतेबाट जारी भएको लक डाउनले उठ्नै नसक्ने अवस्थामा पुगेको नेपालको अटो व्यवसायलाई दशैंले राहत दिएको छ ।
कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिमका कारण जारी भएको लक डाउनपछि चार महिना बढी समय व्यवसाय बन्द रहेको थियो । लक डाउनपछिको अवधिमा गत वर्षहरुमा व्यापार भन्दा कम भएपनि परिस्थिति अनुसार सन्तोषजनक रहेको व्यवसायीहरुको भनाई छ । लक डाउनपछि साउनमा एक महिना व्यवसाय सञ्चालन गरेको व्यवसायीहरुले भदौ महिनामा भने निषेधाज्ञाको सामना गर्नुपरेको थियो । दशैंको समयमा व्यवसायीहरुले व्यापार राम्रो भएको बताएका छन् । नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष कृष्णभक्त दुलाल दशैंले अटो व्यवासायीहरुलाई राहत दिएको बताउँनुहुन्छ । लक डाउनका कारण सिथिल बनेको बजार साउन पछिको अवस्थामा केही माथि उठ्न सकेको उहाँले बताउनुभयो । विगत वर्षहरुमा सवा लाख बढी सवारी साधान आयात हुने गरेकोमा यो वर्ष करिब साढे ८३ हजार सवारी आयात भएका छन् । अध्यक्ष दुलालले ४ हजार १ सय ३३ कार÷जिप, ७० हजार २ सय ६० मोटरसाइकल र अन्य सवारी साधन २ हजार २ सय ९० वटा गरी ८३ हजार २ सय १४ सवारी आयात गरिएको बताउनुभयो । यो वर्ष १९ अर्ब ८२ करोड ८१ लाख ६ हजार बराबरका सवारी आयात भएका छन् ।

कोभिडका कारण सार्वजनिक सवारी अभाव भएको, संक्रमणको जोखिमका कारण पनि नीजि सवारी प्रयोग गर्नेहरुको संख्या बढेको बताउनुभयो । सरकारले संक्रमणको जोखिमका कारण नयाँ लाइसेन्स वितरणको काम रोकेको छ । तर व्यवसायीहरुले भने लाइसेन्स वितरण रोक्न नहुने बताएका छन् । यातायात व्यवस्था कार्यालय र सरकारलाई लाइसेन्स वितरण खुलाउन र अब सुरक्षित भएर व्यवसाय गर्ने वातावरण मिलाउन उहाँले आग्रह गर्नुभयो ।

Spread the love