राजदूतहरुको संसदीय सुनुवाई २७ गते हुने

विभिन्न देशका लागि प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाई कार्तिक २७ गते हुने भएको छ ।
प्रस्तावित राजदूतहरुविरुद्ध उजुरीकर्ताहरु सम्पर्कमा नआएपछि २७ गतेका लागि सुनुवाई तोकिएको हो । अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मालाई राजदूतमा सिफरिस गरिएकोमा सुनुवाई हुन बाँकी छ । प्रस्तावित राजदूतहरु विरुद्ध समितिमा चारवटा उजुरी परेका छन । तर उजुरीकर्ताहरु नै सम्पर्कमा नआएपछि सुनुवाई रोकिएको हो । यसअघि कार्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर उजुरीकर्ताहरुलाई सम्पर्कमा आउन भनिएको थियो । संसदीय सुनुवाई समिति सभापति लक्षमणलाल कर्णले उजुरीकर्ताहरु नआएपछि २७ गतेका लागि अर्को सुनुवाईको मिति तोक्नु भएको हो ।

गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

Spread the love