रोजगारीको लागि भारत जाने बढे 

हिजोआज कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा भारत जानेहरुको लामो लाइन देखिन्छ ।  दशैं अघि यही नाकामा दशैँ मनाउनका लागि स्वदेश फर्किनेहरुको चहलपहल थियो । दशैँ सकिए लगत्तै रोजगारीका लागि फेरी भारत जानेहरुको घुइचो बढ्न थालको छ ।
कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा रोजगारीका लागि भारत जानेहरुको भिड लाग्ने गरेको छ । चाडपर्व मनाउन स्वदेश आएका मानिसहरु दशैं सकिए लगत्तै फेरी रोजगारीका लागि भारत फर्किएका हुन् । दशैँ सकिएर तिहार आउनै लाग्दा भारत जानु रहर नभई बाध्यता भइको उनीहरुले बताएका छन् । देशभित्रै काम नपाउने भएपछि दुई चार पैसा कमाउन र परिवारको लालनपालनकै लागि भारत जानुपर्ने बाध्यता रहेको पनि उनीहरुले बताए ।

कोरोना संक्रमणका कारण स्वदेश फर्किएकाहरु पनि फेरी भारत जान बाध्य भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाका कारण घर फर्किएकालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने बताएको छ । तर देशभित्र रोजगारी पाउने अवस्था नै नभएपछि चाडपर्वको बीचमै पनि मानिसहरु रोजगारीका लागि भारत जान बाध्य छन् । देशभित्रै रोजगारीको अवसर नभएकाले चाडपर्वको प्रवाह नगरी काम खोज्न भारत जानुपरेको गुनासो पनि धेरैको छ ।

सुदूरपश्चिमका दुई नाका गड्डाचौकी र त्रिनगर गौरीफन्टा भएर मात्रै दैनिक हजारौको संख्यामा नागरिकहरु भारत भइरहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १ गते देखि १६ गतेसम्म १२ हजार ७ सय  ६३ नेपाली भारत प्रवेश गरेका छन् । जसमा २ हजार ४ सय ५० महिला र १ हजार ४ सय ५ बालबालिका पनि छन् ।

Spread the love