सुदूरपश्चिममा कोरोना सङ्क्रमितको उपचार निःशुल्क

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको छ ।
सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरोकारवालाहरूसँग छलफल गर्दै मुख्यमन्त्री भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको हो । उहाँले प्रदेशका सबै अस्पतालहरूमा अक्सिजन बेड थप्न समेत निर्देशन दिनुभयो । छलफल पछि पत्रकारहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री भट्टले प्रदेशको स्वास्थ्य अवस्था र उपलब्ध उपकरणका बारेमा जानकारी लिएको र भविश्यमा आउन सक्ने संकटलाई मध्यनजर गर्दै पूर्वाधार निर्माण गर्न निर्देशन दिएको बताउनुभयो ।
अस्पतालहरुका अक्सिजनको आपूर्ति नियमित राख्न र आवश्यक परेमा ५० शैयाको थप एक अस्पताल निर्माणको तयारी थाल्न समेत निर्देशन दिएको मुख्यमन्त्री भट्टले बताउनुभयो । उहाँले सुदूरपश्चिममा कोरोना संक्रमितको निशुल्क उपचार भइराखेको समेत बताउनुभयो । छलफलमा सहभागी सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले प्रदेशमा स्वास्थ्य पूर्वाधारलाई व्यवस्थित पार्ने काम भइरहेको बताउनुभयो ।
छलफलमा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की, प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी, सेती प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष दुर्गा प्रसाद जोशी लगायतको सहभागिता रहेको थियो ।
Spread the love