अर्थतन्त्रलाई गतिशिल बनाउन निजि क्षेत्रको आत्मविश्वास र मनोबल बढाऊन पर्ने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजि क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताउनुभएको छ ।
बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले निजि क्षेत्र बिना अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताउनुभएको हो । उहाँले कोभिडले सिर्जना गरेको चुनौतिलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनरउत्थान गर्न, रोजगारीका अवसर बढाउन र उत्पादन बढाउने काम निजि क्षेत्र बिना सम्भव नभएको बताउनुभयो । त्यसैले अहिलेको प्रतिकुल परिस्थितिकाबीच पनि व्यवसाय सुचारु गर्न र राष्ट्रिय अर्थतन्त्रमा आ–आफ्नो ठाउँबाट योगदान दिन अनुकुल परिस्थितिको निर्माण गर्ने भुमिकामा सरकार रहेको बताउनुभयो ।

यस्तै सरकारले घोषणा गरेका कार्यक्रमहरु कार्यान्वयनमा नगएको सम्बन्धमा आफ्नो ध्यान केन्द्रीत भएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । सरकारले घोषणागरेको पुनरकर्जा तथा स्टिमुलस प्याकेजहरु कार्यान्वयनको चरणमा रहेको पनि उहाँले बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजस्वका दरहरु घटाउन माग गर्नुभयो । सरकारले राजस्वका दरहरु घटाउँदा कारोबार बढ्न जाने र कारोबार बढेपछि स्वतः राजस्वको आकार समेत बढ्ने भएकाले छिटो भन्दा छिटो राजस्वका दरहरु घटाउनुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

करका दरहरु उच्च हुँदा कुनैपनि वस्तुको मूल्य बढी हुने भएकाले कतिपय सामानहरुको अवैध आयात हुने गरेको व्यवसायीहरुले बताएका छन् । त्यसैले पनि भन्सार दर, राजस्व, मूल्य अभिवृद्धि कर लगायतका करका दरहरुमा सुधार आवश्यक रहेको तर्क व्यवसायीहरुको छ ।

Spread the love