सरकारको नजरमा सबै उद्योगी व्यवसायी समान छन् ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलाल पूजीवाद र नवउदारवादी पूँजीवादलाई प्रसय दिएको भन्ने आरोप भ्रमपूणर् भएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औैं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समूहले सरकारले दलाल पूजीवाद र नवउदारवादी पूजीवादलाई प्रसय दिएको र उद्योगी व्यवसायीलाई विभाजित गर्‍यो भन्ने आरोप लगाएको भन्दै त्यस्ता अभिव्यक्ति भ्रमपूणर् रहेको बताउनुभएको हो । त्यस्ता अभिव्यक्ति सुनेर दुविधामा नपर्न समेत निजी क्षेत्रलाई प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । देशको निम्ति काम गर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्योगी व्यवसायीहरु राष्ट्रका साझा सम्पत्ति भएको बताउनुभयो ।
त्यसैले सरकारको नजरमा सबै उद्योगी व्यवसायी समान भएको उहाँको भनाई छ । राज्यले सबैलाई कानून सम्मत ढंगले संरक्षण प्रदान गर्ने र सुरक्षा दिने काम गर्ने प्रष्ट पार्नुभयो । तर राज्यले उद्योगी व्यवसायीहरुसँग सधै कारोबारमा पारदर्शिता कायम गर्न मात्रै आग्रह गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
सरकार राष्ट्रिय पूँजी, राष्ट्रिय उद्योग र राष्ट्रिय पूँजीपतिहरुलाई सबल बनाउने पक्षमा रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । राष्ट्रिय पूँजी, उद्यमी र पूँजीपतिहरुलाई विकास गर्न नसक्दा वैदेशिक लगानी खोज्नुपर्ने बाध्यता भएको पनि उहाँले बताउनुभयो । देशमा पूँजी निर्माण गरी बह्य देशमा लगानी नगर्न समेत उहाँले आग्रह गर्नुभयो । देशमा लगानीका अवसर सिद्धिएको नभई झन बढेकाले देश भित्रै लगानी बढाउन सुझाव दिनुभयो । अहिले पनि देशभित्र उपभोग हुने अधिकांश वस्तु आयात गर्नुपर्ने भएकाले त्यसलाई प्रतिस्थापन गर्न पनि उत्पादन बढाउने क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । नेपालका सबै उद्योग व्यवसाय, सेवा क्षेत्र, कृषि, पर्यटन सबैलाई साथ सहयोग लिएर सहकार्य गर्न सरकार तयार भएको पनि प्रधानमन्त्री आलीले स्पष्ट पार्नुभयो ।

कोभिडका कारण नागरिक, निजी क्षेत्र र सरकार सबैलाई कठिनाई परेकोले मिलेर सामना गर्नुको विकल्प नरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । कोरोनाको असरलाई राहत पुर्‍याउन अन्य देशका सरकारले ठूलो रकम विनियोजन गरेको तर हामीले पाएनौं भन्ने लाग्न सक्ने स्वभाविक भएको बताउनुभयो । सरकार मनको गरिब नभई आफ्नो क्षमता र गक्ष अनुसार उद्यमी व्यवसायीहरुलाई सघाएको बताउनुभयो । उहाँले गक्ष भन्दा एक कदम अगाडी बढेर सरकारले सहयोग गरेपनि बचत नभएका कारण त्यो थोरै हुने बताउनुभयो । तरपनि सबैपक्ष मिलेर एकसाथ नहिडे अर्थतन्त्रलाई जोगाउन कठिन हुने उहाँको भनाई छ ।
कार्यक्रममा उद्योगी व्यवसायीहरुले भने कोरोनाका कारण अर्थतन्त्र र व्यवसायी दुःखमा भएको बताएका छन् । बजेटमा ल्याइएको सहुलियत कर्जाको कार्यविधि ढिलो आउँदा समेत उद्योग व्यवसायलाई निरन्तरता दिन कठिनाई भएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताउनुभयो । उद्योग व्यवसायलाई निरन्तरता दिन पूँजीको अभाव भएकाले घोषणा भएका राहत प्याकेज छिटो उपलब्ध गराउन सरकारको ध्यान जानुपर्ने गोल्छाले बताउनुभयो ।

Spread the love