प्रधानमन्त्री र भारतीय विदेश सचिव बीच शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा विवाद लगायतका समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाउनुभएको छ । दुई दिने नेपालमा भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव हर्शवद्र्धन श्रृङ्गला मार्फत प्रधानमन्त्री ओलीले यस्तो सन्देश पठाउनुभएको हो । हिजो साझ बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले सीमा विवाद लगायत नेपाल भारतबीच देखिएका समस्या वार्ताको माध्यमबाट हल गर्नुपर्ने सन्देश पठाउनुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।
भेटमा विदेशसचिव श्रृङ्गलाले नेपाल भारत सम्बन्धलाई अगाडि बढाउनका लागि भारत सकारात्मक रहेको र समस्याहरुलाई वार्ताको माध्यमबाट सामान गर्न चाहेको मोदीको सन्देश प्रधानमन्त्रीलाई सुनाउनुभएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले आफुहरुले पनि वार्ताकै माध्यमबाट समस्याहरु समाधान गर्न चाहेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले दुईपक्षीय भ्रमणहरुले वार्ताको वातावरण बनाउन सकारात्मक भूमिका खेल्ने पनि बताउनुभयो वार्ताका लागि विभिन्न संयन्त्रहरु निर्माण भएपनि बैठक बस्न नसकेको अवस्थामा प्रधानमन्त्री र विदेशसचिवको शिष्टाचार भेटमा बैठक बस्ने तय भएको उहाँले बताउनुभयो । परराष्ट्रमन्त्रीस्तरिय बैठकको मिति टुंगिएपछि बैठक बस्ने तय भएको पनि उहाँले बताउनुभयो ।

Spread the love