आन्तरिक लगानीलाई प्रोत्साहन गर्न निजी क्षेत्रसँग सहकार्य गर्छौ : उद्योगमन्त्री

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी निजी क्षेत्रसग सहकार्य गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा मन्त्री भट्टले वैदेशिक लगानी भन्दा आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी काम गरिने स्पष्ट पार्नुभएको हो । कोभिड पछिको परिस्थितिमा लगानी बढाई रोजगारी सिर्जना गर्ने सन्दर्भमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुको विकल्प नहुने पनि बताउनुभयो । त्यसैले उद्योग मन्त्रालयले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नेगरी नीतिगत व्यवस्था गर्ने बताउनुभयो ।
महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको स्थितिमा कतिपय उद्योगहरुमा मजदुरहरुले बन्द हडताल गरिरहेको भन्दै त्यसलाई रोक्न पहल गरिदिन मन्त्री भट्ट समक्ष माग गर्नुभयो । उद्योग मन्त्रालयले निर्देशन जारी गरेर भएपनि बन्द हडताल रोक्नुपर्ने माग अध्यक्ष गोल्छाले गर्नुभयो ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले साना तथा मझौला उद्योगहरुले पुनरकर्जाको सुविधा पाउन नसकेको बताएका छन् । यस्तै पुनरतालिकिकरणमा समेत समस्या देखिएकोले त्यस्ता समस्या समाधानमा मन्त्रालयले पहल गर्नुपर्ने उद्योगीहरुले बताए

Spread the love