पल्सर स्पोर्टस अवार्ड-२०७६ पुषको अन्तिम साता हुने

खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड-२०७६ पुषको अन्तिम साता हुने भएको छ । खेलाडी र खेलकर्मीका लागि प्रदान गरिने नेपाली खेलकुदको सबभन्दा ठूलो अवार्डको १७औं संस्करण आगामी पुस २८ गते ललितपुरस्थित कराते एकेडेमीको हलमा आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको अवार्ड वर्षको सुरुआतमै गरिने भए पनि यसपटक कोरोना भाइरसको महामारीका कारण ढिलो हुन लागेको हो । आयोजक एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी (दुर्गानाथ) ले आइतबार आयोजित अवार्ड मिति घोषणा कार्यक्रममा कोरोना भाइरसको संक्रमण जोखिमका कारण सेमिभर्चुअल माध्यमद्वारा अवार्ड घोषणा गरिने बताउनुभयो । कार्यक्रममा आयोजक एनएसजेएफ र बजाज पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीबीच मुख्य प्रायोजन सम्झौतामा पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा एनएसजेएफका अध्यक्ष सुवेदी र हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार कम्पनीले अवार्डका लागि एनएसजेएफलाई चारवटा बजाज पल्सर एनएक्स मोटरसाइकल र अन्य विभिन्न उपहारहरू तथा नगदसहित २८ लाख ४० हजार ६सय रुपैयाँ उपलब्ध गराउनेछ । त्यसबापत् अवार्डको नाम पल्सर स्पोर्टस अवार्ड हुनेछ । अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पुर्‍याएको विशेष योगदानको कदरस्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड र नेपाली खेलकुदप्रति सहयोगी एकजना विदेशी पत्रकारलाई दिइने इन्टरनेसनल अवार्ड गरी १० विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले जनही एक थान पल्सर मोटरसाइकल र उपहारहरू पाउनेछन् । यसैगरी उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेताले जनही ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने छ ।

Spread the love

Comment here