सिर्जनात्मक कला र साहित्यले नेपालको धार्मिक, सामाजिक एकतालाई प्रतिनिधित्व गर्ने पर्यटन मन्त्रीको भनाइ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सिर्जनात्मक कला र साहित्यले नेपालको धार्मिक, सामाजिक र भौगोलिक एकतालाई प्रतिनिधित्व गर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६३ औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव-२०७७ को अवसरमा सोमाबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराईले साहित्य र कलाको माध्यमबाट देशको एकतालाई प्रतिनिधित्व गर्न सकिने बताउनुभएको हो । साहित्य र कलाको माध्यमबाट देशमा जातिय सद्भाव, धार्मिक सहिष्णुता र भौगोलिक एकता कायम राख्न सकिने उहाँको भनाई छ ।
मान्छेमा हुने आलोचनात्मक चेतलाई सम्मान गर्नपर्ने तर त्यस्ता आलोचनात्मक चेत सिर्जनात्मक, समृद्धि र राष्ट्रिय एकताको लागि हुनुपर्ने पनि उहाँले बताउनुभयो । यस्ता विषयहरुलाई साहित्यको विधामार्फत ल्याएर समाजलाई अगाडि बढाउन सकिने मन्त्री भट्टराईले बताउनुभयो ।

प्राज्ञिक कविहरुले समाजका अग्रगामी विषयहरुलाई कलमको माध्यमबाट उजागर गर्न अझबढी भूमिका खेल्नुपर्ने पनि मन्त्री भट्टराईले बताउनुभयो । प्राज्ञिक व्यक्तिहरुले नै समाजलाई सही मार्गदर्शन दिन सक्ने भएकाले देशको एकता झल्काउने विषयमा कलम चलाउन सुझाव समेत दिनुभयो ।

Spread the love