चिनी उद्योगीहरुले किसानको पैसा नतिरे सरकारले कारबाही गर्ने

चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने भएको छ । मंगलबार मन्त्रालयमा चिनी उद्योगीहरुसँग भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानको पैसा भुक्तानी नगरे कारबाही गर्ने बताउनुभएको हो । उद्योगीहरुसगको भेटपछि मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले चिनी उत्पादक संघका अध्यक्षलाई किसानको भुक्तानी नदिए उद्योगीहरुलाई मन्त्रालयले कारबाही गर्ने जानकारी गराएको बताउनुभयो ।
प्रवक्ता रेग्मीले किसानका समस्या समाधानका लागि मन्त्रालय संवेदनशिल भएको पनि बताउनुभयो । किसानलाई मन्त्रालयमा छलफलका लागि बोलाइएको तर नआएपछि फेरी पत्र दिएर छलफलमा आउन आग्रह गरिएको पनि उहाँले बताउनुभयो ।
चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले पनि उद्योग मन्त्री भट्टले हदै सम्मको कारबाही गरेर भएपनि किसानलाई पैसा दिलाउने कुरा राख्नुभएको बताउनुभयो । आफुले भने फेरी एकपटक पैसा भुक्तानीका लागि छोटो समय दिन आग्रह गरेको बताउनुभयो ।

उखु किसानहरु उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै आइतबार यता काठमाडौंको माइतिघरमा आन्दोलन गरिरहेका छन् । चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नतिरेकोले भुक्तानी पाउनुपर्ने माग किसानहरुको छ । उनीहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

Spread the love