ड्रागन फ्रुटको १० वटा बोटबाट वार्षिक ५० हजार रुपैयासम्म आम्दानी

बाँकेको खजुरा गाँउपालिका वडा नं. ४ का तिलक सिरिस मगरले ड्रागन फ्रुटको १० वटा बोटबाट वार्षिक करिब ५० हजार रुपैयासम्म आम्दानी गर्न सफल हुनुभएको छ । ६ बर्ष वैदेशिक रोजगारमा ड्रागन खेती गरेर घर फुर्किनु भएका मगरले मालेसियाबाट एउटा बोट ल्याएर आफ्नै बारिमा खेती शुरु गर्नुभएको हो । बाकेको खजुरा गाँउपालिका वडा नं. ४ का तिलक सिरिस मगरले ६ वर्ष सम्म वैदेशिक रोजगारीका लागि मलेसियामा बस्नुभयो । मलेसियामा ड्रागन फ्रुटको फार्ममा काम गर्नुभएका मगर अहिले भने आफ्नै ठाउँमा ड्रागन फ्रुटको खेती शुरु गर्नुभएको छ । शुरुमा एउटा बोटबाट खेती शुरु गर्नुभएका मगरको बारिमा अहिले १ सय १० वटा पिलरमा ४ सय ४० वटा विरुवा रहेका छन् । १० वटा बोटले आम्दानी दिन थालिसकेको छ । गत वर्ष १० वटा विरुवाबाट ४० हजार रुपैयाँ आम्दानी भएको र यस वर्ष अहिलेसम्म ३० हजार रुपैयाँ बढीको विक्री भइसकेको बताउनुभयो ।

ड्रागन फ्रुट खेतीमा मगरकी बहिनी कविता थापाले सघाउँदै आउनुभएको छ । ड्रागन फ्रुटको बजारको समस्या नरहेको थापाले बताउनुभयो । अहिलेसम्म घरबाटै प्रति केजि ६ सय रुपैयाँको दरले विक्री भइराखेको छ । अहिले सेतो र पिङ्क गरी दुई किसिमका ड्रागन फ्रुटको विरुवा लगाएको पनि थापाले बताउनुभयो ।
स्वास्थ्यको लागि लाभदायक भएकोले गाँउपालिकाले ड्रागन खेतीलाई प्रोत्सहन गर्ने भएको छ । पालिकाले आर्थिक, प्राविधिक रुपले सहयोग गरी किसानहरुलाई ड्रागन फ्रुट खेतीमा प्रोत्साहन गर्न लागेको गाउँपालिकाका कृषि शाखा प्राविधिक अंकित विश्वकर्माले बताउनुभयो ।

पालिकालाई नामुना गाँउपालिका बनाउने योजना भएकाले पनि कृषि तर्फ ड्रागन फ्रुटलाई प्राथमिकता दिएर अगाडि बढ्ने योजना गाउँपालिकाले बनाएको छ ।

Spread the love