पेट्रोलियम नीति छिट्टै ल्याइनेः मन्त्री भट्ट

उद्योगवाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरूलाई समाधान गर्न सरकार लागिपरेको बताउनुभएको छ । शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भट्टले आयल निगम सम्बन्धी समस्याहरूलाई प्राविधिक रूपमा भन्दापनि नीतिगत रूपमा समाधान गर्न सरकार लागिपरेको बताउनुभएको छ । उहाँले राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसकेको जानकारी दिँदै थप छलफल गरी ल्याउने तयारी गरिरहेको बताउनुभयो । यस्तै व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने पनि मन्त्री भट्टले बताउनुभयो । कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको आफूले देखेको कुरा बताउदै  विपरीत विचार हुनेहरूले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र देशलाई समृद्ध बनाउन अगाडि बढिरहेको भएपनि सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताउनुभयो । निजी क्षेत्र नाफा मुखी हुने र सोही अनुसार कर तिरेर राज्यलाई सहयोग गरिरहेको  तर सरकारले अनुगमनको नाममा उद्योगी व्यवसायीलाई पीडा दिने गरेको अध्यक्ष गोल्छाले बताउनुभयो । अनुगमन गर्दा आचारसंहिता भित्र बसेर गर्न र कुनै न्यायिक निष्कर्ष ननिस्किएसम्म कुनैपनि उद्योगी व्यवसायीको मानमर्दन नगर्न सरकारसँग आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीहरूले पेट्रोलिय पदार्थ अर्थतन्त्रको रक्तसञ्चार भएकोले यसको वितरण प्रणालीलाई सहज बनाउनुपर्ने बताएका छन् ।

Spread the love