हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्ज हुने सहमति, नाम पनि तोकियो

बैशाख १९, काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुने निश्चित भएको छ । यसका लागि नाममा सहमति जुटेको छ । मर्जर कमिटीको शुक्रबार बसेको बैठकले ‘हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक’ नाम रहनेगरी सहमति जुटाएको हो ।

हिमालयन बैंकले मर्जपछिको नाममा इन्भेष्टमेन्ट जोड्न नखोजेपछि सहमति जुट्न बाँकी थियो । ‘वाणिज्य बैंकको नाम इन्भेष्टमेन्ट कम्पनीजस्तो राख्नु हुँदैन भन्ने विबाद अहिले समाधान भएको छ । दुवै बैंकको नाम नमेटिनेगरी सहमति हो ।

त्यस्तै सिइओका सम्वन्धमा पनि सहमति जुटेको छ । हालका हिमालयन बैंकका सिइओ अशोक शमशेर राणाले थप दुई वर्षको कार्यकाल सम्हाल्ने र त्यसपछिको जिम्मा हालका इन्भेष्टमेन्ट बैंक सिइओ ज्योति पाण्डेले सम्हाल्नेगरी कमिटीमा सहमति जुटेको छ ।अध्यक्षमा भने यसअघि नै सहमति जुटेको छ। इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे नै अध्यक्ष हुनेछन् ।

स्वाप रेसियो बराबर हुनेगरी सहमति जुटिसकेको छ । यसको अर्थ हाल जुन बैंकको जति सेयर छ, मर्जपछिको बैंकको पनि सो व्यक्ति वा संस्थासँग उति नै सेयर हुनेछ । अब सहमति जुट्न बाँकी विषय नरहेकाले केही दिनमा एमओयू हुनेछ ।मर्जर कमिटीमा भएको सहमति अब दुवै बैंकका संचालक समितिले अध्ययन गरेपछि, त्यहाँ सहमति जुट्नेछ र एमओयू हुनेछ ।

‘अहिले एमओयू कहिले हुन्छ भन्नेबारे भन्न सकिने अवस्था छैन्, बैंक स्रोतले भन्यो,‘ हाल हिमालयनको कुल कर्जा प्रवाह १ खर्ब २७ अर्ब तथा इन्भेष्टमेन्टको १ खर्ब ६० अर्ब छ। मर्जपछि बैंकको कुल कर्जा प्रवाह २ खर्ब ९० अर्बको हाराहारी हुनेछ ।’ यस आर्थिक वर्षको चैत मसान्तसम्म इन्भेष्टमेन्टले कुल २ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने हिमालयनले १ अर्ब २८ करोड कमाएको छ ।

Spread the love