ईश्वर पोखरेलद्धारा सरकारमा रहँदाको आयव्यय बिवरण सार्बजनिक

जेठ २३, काठमाडौं । एमाले महासचिब ईश्वर पोखरेलले उनि उपप्रधानमन्त्री हुँदाको समयमा भएका आयव्यय बिबरण सार्बजनिक गरेका छन् । उनले आज आइतबार फेसबुक मार्फत सार्बजनिक गरेको बिबरणमा पार्टी कोषमा लेबी वापत ६ लाख ५ हजार बुझाएको जनाएका छन् ।
उनले आफू अब एमाले महासचिवका रुपमा पार्टीको काममा केन्द्रित हुने बताएका छन् । पोखरेलले पार्टी कसरी सञ्चालन गर्ने भन्ने बारे आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरिसकेको र अध्यक्षका आशयलाई आफूले बुझ्ने प्रयत्न गर्दै आएको बताएका छन् ।

पोखरेलले भनेका छन्, ‘म नेकपा (एमाले) को महाधिवेशनबाट निर्वाचित महासचिव, तर ‘महान र ऐतिहासिक’ भनिएको एमाले–माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिन । तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले–माओवादी पार्टीहरूको पूर्व स्थिति कायम रहन पुगेका कारण म पुनः एमालेको महासचिव रहन पुगेको छु । यो अवस्थामा मैले बुझेको छु, म पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ ।

पोखरेलले अहिले सबैतिर पार्टी छ तर कहिँ पनि पार्टी छैन जस्तो अवस्था रहेको भन्दै यसलाई बदल्नुपर्ने चुनौती रहेको बताएका छन् । पोखरेलले पार्टीभित्रको एकतासमेत अहिले संकटमा रहेकाले यसलाई जोगाउन आफू लाग्ने बताएका छन् ।

पोखरेलले मन्त्री हुँदा आफूले सुबिधाबापत प्राप्त गरेका सबै दायित्वहरु राज्यलाई बुझाइसकेको र मन्त्री क्वार्टर शनिवार नै खाली गरिसकेको बताएका छन् । पोखरेलले कोभिड संक्रमितको उपचारका लागि सात महिनाको पारिश्रमिक बराबर ४ लाख ५६ हजार ४ सय रुपैयाँ कोभिड कोषमा बुझाएका छन् ।

Spread the love