भारतभर होटल तथा रेष्टुरेण्ट खुल्ला, फिल्म सुटिङ गर्न अनुमति

असार ७, काठमाडौं । कोरोना भाइरसको संक्रमण कम भएपछि भारतमा आजदेखि रेष्टुरेन्ट, पार्क र छायांकन खुला गरिएको छ ।

संक्रमण घटेपछि भारतका अधिकांश राज्यहरुले यसअघि प्रतिबन्ध लगाइएका विभिन्न गतिविधिहरू खुला गरेका छन् । उत्तर प्रदेशमा दुई महिनाको प्रतिबन्धपछि आजदेखि रेष्टुरेन्ट खुला भएका छन् । रेष्टुराँ तथा होटलमा ५० प्रतिशत उपस्थितिमा हप्ताको पाँच दिन खोल्न दिइएको हो ।

यस्तै शनिबार र आइतबार बाहेक बिहान ७ बजेदेखि राति ९ बजेसम्म नै पसलहरु सञ्चालनको अनुमति दिइएको छ । राजधानी नयाँ दिल्लीमा पनि आजदेखि रेष्टुराँ, बार, सार्वजनिक पार्क तथा उद्यानहरु खुला भएका छन् । उत्तराखण्डमा पनि बजार तथा रेष्टुराँहरु खुला भएका छन् । कर्नाटकमा आउटडोर छायांकनको समेत अनमति दिइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुई महिना अघिसम्म दैनिक ४ लाखसम्म संक्रमित भएको भारतमा पछिल्लो १४ दिनदेखि संक्रमितको संख्या १ लाखभन्दा कम भएको छ । महिना दिन अघिसम्म भारतमा संक्रमण दर उच्च थियो ।

(समाचार स्रोतः अन्तराष्ट्रिय एजेन्सी)

Spread the love