चोभारको सुक्खा बन्दरगाह असार मसान्तपछि सञ्चालनमा आउने

असार १४, काठमाडौँ । चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ ।

राससका अनुसार, इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आइतबार चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरी सकिने बताएका छन् ।

बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको उनले बताए । केही बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने पनि उनले बताए । उनले भने,‘भन्सारको लागि र क्वारेन्टीनका लागि विल्डिङ तयार भइसकेको छ । प्रशासनिक भवन निर्माण भइसकेको छ । एप्रिजल सेट जहाँ चेकजाँच गरिन्छ । ३ वटा तयार भइसकेको छ । ठुलो–ठुलो गोदामहरू २ वटा निर्माण भइसकेकको छ । कन्टेनर यार्ड त्यो पनि तयार भइसकेको छ । पार्किङ यार्डहरू बनिसकेको छ । गेट तीनवटै धमाधम सकिने स्थितिमा छ । ड्राइभरका लागि खाना पकाउने ठाउँ , ट्वाइलेट, वाथरुम बनिसकेको छ । सञ्चालन गर्ने स्थितिमा पुगिसकेका छौँ ।’

काठमाडौँमा बनेको सुख्खा बन्दरगाहका कारण बाहिरी देशबाट सिधैँ काठमाडौँमा आउने सामग्रीहरू ल्याउन सहज हुने कार्यकारी निर्देशक गजुरेलले बताए । उनले भने,‘बाहिरी देशबाट आउने सामानहरू जो काठमाडौँको गन्तव्य हुन्छ । उहाँहरुले म विरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर गर्दिन सिधैँ काठमाडौँमा क्लियर गर्छु भन्दा यो सञ्चालनमा आएपछि यहीँ ल्याएर क्लियर गर्न सक्नुहुन्छ ।’

विरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर नगरी सामग्री एकैचोटी काठमाडौँमा क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार–पसार गर्ने मुल्यलाई घटाउन योगदान गर्ने उनले बताए । पृथ्वी राजमार्ग हुँदै बन्दरगाहसम्म सामाना ढुवानी गरिने उनले जानकारी दिए । बन्दरगाहको लागत अनुमान १ अर्ब ८० करोड रहेको उनले बताए ।

 

 

Spread the love