सार्बजनिक सवारी संचालन भएपछि उपत्यकामा चहलपहल बढ्यो

असार १५, काठमाडौं । दुई महीनापछि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन हुन थालेको छ ।

राससका अनुसार, वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक यातायात बन्द भएको थियो ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमवारको बैठकले मंगलवारदेखि जोर बिजोर प्रणालीमा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । निर्णयबमोजिम मंगलवार उपत्यकामा बिजोर नम्बरका सवारी सञ्चालन भएसँगै चहलपहल केही बढेको छ ।

निषेधाज्ञा जारी भएसँगै उपत्यकाबाहिर गएका यातायात मजदूरका कारण सबै यातायात भने चल्न सकेका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने २५ भन्दा बढी सिट क्षमताका जोर बिजोर प्रणालीबाट सवारी चलाउँदा भीड बढेर कोरोना सङ्क्रमण बढ्ने खतरा रहेको भन्दै सबै यातायात खुला गरिनुपर्ने माग गरेको छ ।

दुई महीनादेखि यातायात सञ्चालन बन्द हुँदा सबै मजदूरलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या रहेको भन्दै महासंघले उपत्यका बाहिरका सवारी पनि खुलाउनुपर्ने माग गरेको हो ।

महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य सोमवारको निर्णयले विभेद गरेको भन्दै यसलाई सच्याउन माग गरिएको बताउँछन् । विसं २०६९ देखि नै सार्वजनिक यातायातको भाडा नबढाइएकाले भाडा समायोजन गर्नसमेत महासंघले माग गर्दै आएको छ ।

डिजेलको भाउ ९५ रुपैयाँ हुँदा तोकिएको भाडा भाउ बढेर १०९ रुपैयाँ पुग्दासमेत समायोजन हुन नसकेकाले यससम्बन्धी गृहकार्य थाल्न आग्रह गरिएको उनले बताए ।

 

 

Spread the love