कारबाहीका लागि खाद्यका एक सय वटा मुद्दा दायर

साउन १७, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य खाधान्न बेचेको आरोपमा एक सय थान मुद्दा दायर गरेको छ ।

बजार अनुगमन गरेर नमुना संकलन गरी परीक्षण गर्दा खाद्य ऐन विपरीत पाइएकाले कारबाहीका लागि जिल्ला प्रशासन कार्यलयमा मुद्दा दायर गरेको हो । दुषित, न्युन गुणस्तर र लेबल नराखी उत्पादन गरेको कसुरमा कारबाहीका लागि मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार, दायर गरिएका मुद्दाहरुमा सबै भन्दा बढी प्रशोधित पानीका १६ वटा मुद्दा, बिस्कुटका १३, तेल तथा घिउका ११, दानाका ९, तयारी चाउचाउ र मसलाका ७, दालमोठ र ससका ५, दलहनका ४ मुद्दा छन् । दायर गरिएका १ सय मुद्दामा २६ वटा दुषित र न्युन गुणस्तरका र बाँकी लेबल नभएको विभागले जानकारी दिएको छ ।

विभागले एक वर्षको अवधिमा २ हजार ८ सय ३४ नमुना संकलन भएको थियो । संकलित नमुनामध्ये खाद्यान्न÷दलहनजन्यका ७ सय ४७ वटा, तेल तथा घ्युजन्यका ३ सय ८२ वटा, फलफूल तथा सागपात जन्य पदार्थका २ सय ९९ वटा, दाना पदार्थका २ सय ७४ वटा, मसलाका २६६ वटा, चिया कफीका १२४ वटा, दूध तथा दुग्ध पदार्थका २०६ वटा, प्रशोधित पिउने पानीका १६५ वटा, कन्फेक्सनरिका ९० वटा नमुनाको विश्लेषण परीक्षण भएको थियो । जसमा २ सय १९ वटा नमुना प्रतिकुल पाइएको विभागले जानकारी दिएको छ ।

२ हजार ८ सय ३४ वटा नमुना परीक्षण गर्दा २ सय १९ वटा प्रतिकूल पाइएको विभागले जानकारी दिएको छ । सोमध्ये खाद्यान्नका ३६, दानाका ३३, तेल तथा घ्यु जन्य ३०, प्रशोधित पिउने पानीका २७ लगायतका अन्य खाद्य पदार्थका नमुनाहरु प्रतिकूल रहेको विभागले जानकारी दिएको छ । ।

विभागले खाद्य स्वच्छता सर्भिलेन्सका अन्तर्गत २ हजार ७ सय ७५ वटा नमुना संकलन गरेको थियो । खाद्य÷दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटमा ६ हजार १ सय ८९ पटक निरीक्षण अनुगमन गरिएको थियो ।

खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन गरेको नपाइएका प्रशोधित पिउने पानी, दूध तथा दुग्ध पदार्थ, खाद्यान्न दलहन, फलफूल जन्य खाद्य पदार्थलगायतका ९७ वटा उद्योग एवं खाद्य व्यवसायहरुलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमुनाहरु संकलन गरी कारवाही अघि बढाइएको विभागले जानकारी दिएको छ

आव २०७७/०७८ मा जम्मा २२ हजार १ सय ८७ आयात अनुमति जारी गरिएको विभागले जानकारी दिएको छ । आवश्यक कागजात पूरा नभएका मह, मसला, कन्फेक्सनरी, पेय पदार्थ लगायतका विविध खाद्य पदार्थहरु गरी जम्मा २३ खाद्य पदार्थका कन्साइन्मेन्टहरुको अनुमति अस्वीकृत गरिएको विभागले जानकारी दिएको छ ।

खाद्य पदार्थको आयात अनुमतिपत्र नेपाल राष्ट्रिय एकद्वार प्रणालीबाट अनलाइनमार्फत जारी गरिएको छ । साथै भन्सार नाकास्थित विभाग मातहतका खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुमा पनि अनलाइनमार्फत सेवा प्रदान गर्ने प्रकृयामा रहेको विभागले जानकारी दिएको छ ।

Spread the love